
काठमाडौं । यही पौष ९ गते क्रिश्चिय समुदायले मनाउने पर्व क्रिश्मसका अवसरमा सो समुदायले सार्वजनिक बिदाको माग गरेका छन् । नेपालमा सार्वजनिक विदाहरु धेरै भएको चर्चा समयसमयमा भइरहेको बेला राष्ट्रिय ख्रीष्टियन महासंघले सार्वजनिक विदाको दिन माग गरेको हो ।
आज राजधानीमा भएको एक साक्षात्कार कार्यmममा महासंघले अघि सारेका मागहरुमा ख्रीष्टियन समूदायको महान पर्व ख्रीष्टमसका दिन तत्काल सार्वजनिक विदा कायम गर्नुपर्ने बताइएको छ । नेपाल सरकारसँग भएका ६ बुँदे सहमतिहरुलाई तत्काल कार्यान्वयन गरी राष्ट्रिय ख्रीष्टियन आयोग गठन तथा नेपाली ख्रीष्टियन चर्चहरुको सम्पत्ति तथा दायित्वहरु व्यवस्थित् गर्नका लागि नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरुले माग गरेका हुन् ।
नेपाल सरकारसँग भएका ६ बुँदे सहमति अनुसार नेपाली ख्रीष्टियन समूदायको लागि तत्काल समाधिस्थलको व्यवस्था गर्नुपर्ने र गत भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको मुलुकी ऐन–२०७४, मुलुकी अपराध (संहिता)ऐनका परिच्छेद ९ को १५७ /१५८ मर्मविपरित भएका प्रावधानहरुलाई तत्काल संशोधन गर्नुपर्ने बताइएको छ ।
स्वाभिमान र अधिकारसम्पन्न नेपाली ख्रीष्टियन समूदायको सुनिश्चितताको लागि धार्मिक, सामाजिक, आर्थिक, समावेशी र समृद्ध नेपालको परिकल्पना गर्दै विश्वभरि रहेका नेपाली भाषी मण्डलीहरुसँग सहकार्य गर्दै परमेश्वरको महिमाको निम्ती प्रतिबद्ध रहेको कुरा कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघकाअनुसार नेपालमा करिब १२ हजार ५०० भन्दा बढि चर्च (मण्डली)हरु रहेका छन् । नेपालमा अहिले ३० लाखको संख्यामा नेपाली ख्रीष्टियनहरु रहेको भनिएको छ । नेपालमा २०६४ देखि २०७२ सालसम्म सरकारले निरन्तर रुपमा सार्वजनिक विदा दिँदै आएको थियो तर २०७३ सालमा विदा काटिएको थियो ।
महासंघका अध्यक्ष सि.बी. गहतराजका अनुसार सर्वोच्च अदालतले पनि ख्रीष्टमसको दिन दिईँदै आएको सार्वजनिक विदालाई कटौती नगर्न आदेश दिएको जानकारी दिए । उनले सार्वजनिक विदासम्बन्धी बनेको पूनरावलोकन समितिले पनि १३ वटा सार्वजनिक विदाभित्र ख्रीष्टमसलाई पनि समावेश गरेको भन्दै सरकारले पनि विदा दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।