राष्ट्रिय दलित पत्रकार संघको १ नम्बर प्रदेश भेला सम्पन्न, नैन विश्वकर्मा अध्यक्षमा चयन

दियो पोस्ट  

धनकुटा । राष्ट्रिय दलित पत्रकार संघको १ नम्बर प्रदेश स्तरीय भेला धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न भएको छ । भेलाले धनकुटाका पत्रकार नैन विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय दलित पत्रकार संघ, प्रदेश नं. १ गठन गरेको छ ।

संघको उपाध्यक्षमा गंगाबहादुर विश्वकर्मा (खोटाङ), सचिवमा रणध्वँज लोहार (सुनसरीं), सहसचिवमा मेनुका विश्वकर्मा (संखुवासभा) र कोषाध्यक्षमा पदमकुमार सरदार (मोरङं लाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै, सदस्यमा मोहन दुलाल (भोजपूर), अनिता रसाईली (सुनसरी), मनकुमार बराईली (इलाम), मनकुमार गदाल (झापा) र भोलामान विश्वकर्मा लगायतलाई चयन गरेको छ ।

दलित पत्रकार संघको १ नम्बर प्रदेश स्तरीय भेलाको उद्घाटन प्रदेश सांसद निरन राईले गरेका थिए । कार्यक्रमलाई संवोधन गर्दै उनले छुवाछुत जस्तो कलंक अझै समाजमा कायम हुनु विडम्बना रहेको बताए । उनले सम्पूर्ण दलितहरु एक हुनु पर्नेमा जोड दिदैँ कानुनले दलित समुदायप्रति गरेको व्यवस्थाको अक्षरश पालना गर्नु पर्ने रआफुले दलित पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि सहयोग गर्ने बताए ।

सो अवसरमा संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी, प्रदेश सांसद जसमाया गजमेर, विना राई, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई , नेपाल पत्रकार महासंघ १ नं प्रदेश का अध्यक्ष विक्रम लुइटेल, नेपाल आदिवासी पत्रकार महासंघ फोनिजका प्रदेश नं १ का महासचिव विदुर खवास लगायतले नव निर्मित कार्यसमितिलाइ बधाई तथा शुभकामना दिएक थिए ।

कार्यक्रममा संविधानको मौलिक हकमा दलित समुदायको लागि गरिएको व्यवस्थाको कानुन निर्माण गरेर तत्काल कार्यान्वयन गर्न माग गरिएको थियो ।