काठमाडौँ । गोकर्ण रिर्सोट लिज सम्झौताबाट देशलाई घाटा नहुने रक्षामन्त्री मन्त्री इश्वर पोखरेलको दावी गरेका छन् । नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले गोकर्ण फरेस्ट रिसोर्ट थप ३० वर्ष लिजमा दिँदा देशलाई फाइदा हुने दावी गरे ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले नियम विपरित कौडीको भाउमा गोकर्ण निकुञ्जको म्याद थपेको भन्दै गरेको प्रश्नको जवाफमा मन्त्री पोखरेलले प्रचलित ऐनभित्र रहेर नै लिजमा दिइएको दावी गरेका हुन् ।
मन्त्री पोखरेलले २०६४ सालको नेपाल ट्रष्ट ऐन २०७५ मा संशोधन २०७६ असोजमा नियमावली संशोधन गरिएको बताउँदै सोही बमोजिम लिज अवधि थप गरिएको बताए ।
उनले भने, ‘२०७६ बैशाख १० गते एलएम सुवीर ब्रदर्श नेपाल प्रालिको तर्फबाट थप नयाँ संरचना स्थापना तथा ३० वर्ष लिज अवधि थप गर्न निवेदन दिइयो । २०७६ जेठ २४ मा ट्रष्टको ४५ औँ बोर्ड बैठकबाट ट्रष्टकै सहसचिवको नेतृत्वमा निवेदन उपर प्रतिवेदन दिन ३ सदस्यीय समिति बनाइयो । सो समितिले दिएको प्रतिवेदनका आधारमा ट्रष्टको बैठकले सो निवेदनलाई अघि बढाउन उचीत ठानेर सरकारलाई सिफारिस गर्यो ।’
उनले कौडीको भाउमा लिजमा दिएको कुराको अस्वीकार गर्दै नेपाल चार्डड एकाउन्टेन्टलाई फेयर बजार मूल्य निर्धारण गर्न लगाएर भाडा निर्धारण गरेको प्रष्टोक्ति दिए ।
उनले पर्यटन बोर्ड, होटल एशोसियसन र गोकर्णेश्वर नगरपालिकासँग राय माग्दा उनीहरुले भाडादर उचित हुने जवाफ दिएको उल्लेख गरे ।
२०५२ सालमा साउन ३१ गते गोकर्ण होटल व्यवसाय प्रयोजनका लागि ४ हजार रोपनी मध्ये २७ सय ९२ रोपनी ३० बर्षका ५० हजार डलरमा सम्झौता भएको उल्लेख गरे । अहिले म्याद सकिन साढे ५ बर्ष अवधि बाँकी रहँदै लिज सम्झौता साढे ५ वर्ष अवधिको पनि नयाँ भाडादर अनुसार ३७ लाख डलर अर्थात ४ करोड ३१ लाख ८३ हजार २०० रुपैयाँ भाडा आउने जानकारी गराए ।
मन्त्री पोखरेलले बाँकी २५ बर्षको वापत १ अर्ब १५ करोड १० लाख २ हजार ११७ रुपैयाँ नेपाल ट्रष्टले भाडा पाउने उल्लेख गरे ।
साथै २९ करोडमा थप ४८ वटा सुविधासम्पन्न कोठा र ४ सय क्षमताको सभाहल बनाउन अनुमति दिइएको पनि उनले बताउदै आउने २५ बर्षमा व्यवसायिक करबाट सरकारले ३ खर्ब हाराहारी पाउने दावी गरे ।
नेपाल ट्रष्टको ऐन २०७५ मा ट्रष्टको सम्पति राष्ट्रहीतका लागि स्वास्थ्य, शिक्षा, व्यवसायका लागि ट्रष्टको सिफारिसमा सरकारले लिजमा दिन सक्ने व्यवस्था अनुसार नै दिएकोले नियमसंगत रहेको मन्त्री पोखरेलले दावी गरे ।