ग्रहण हेर्नकै लागि भारतीय प्रधानमन्त्री मोदीले लगाए साढे एक लाख भारुको चस्मा

दियो पोस्ट  

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारको खण्डग्रास सुर्यग्रहण अवलोकन गर्नका लागि निकै महंगो चस्माको प्रयोग गरेको पाइएको छ । बिहीबार सुर्यग्रहण अवलोकन गर्दै गरेको तस्वीर ट्वीट गरेपछि उनले प्रयोग गरेको चस्माको मुल्यको बारेमा भारतीय संचारमाध्यम र सामाजिक संजालहरुमा यस विषयले चर्चा पाएको हो ।

ट्वीटमा भारतीय प्रधानमन्त्री मोदीले भारतका जनसमुदायले जस्तै आफुले पनि खण्डग्रास सुर्यग्रहणको अवलोकन गरेको बताएका छन् । आफ्नै आँखाले सुर्यग्रहण देख्न नपाएपछि उनले प्रत्यक्ष प्रसारण मार्फत सुर्यग्रहणको अवलोकन गरेको बताएका छन् ।

उनले प्रयोग गरेको चस्माको बारेमा सामाजिक संजालमा थुप्र्रै आलोचना भएका छन् । ग्रहण हेर्नका लागि उनले जर्मन ब्राण्ड मेब्याक आइवेयरको द डिप्लोम्याट आइ मोडलको चस्मा प्रयोग गरेका थिए । करिब २१ सय ५९ डलरको उक्त चस्मा भारतमा आइपुग्दा करिब एक लाख ६० हजार भारतीय रुपैया पुग्ने बताइएको छ ।

उनको ब्राण्ड मोह देखेर भारतीय जनताहरुले यसप्रति विभिन्न टिकाटिप्पणी गरेका छन् भने सामाजिक संजालमा समेत ब्यंग्यात्मक मिमहरु सार्वजनिक भएका छन् । ट्वीटरमार्फत एक प्रयोगकर्ताले प्रधानमन्त्रीलाई जर्मन सपनामा बाँचिरहेको र ग्रहण पनि जर्मनबाटै हेर्नका लागि आग्रह गरे ।