धादिङ, २४ मंसिर । आफूलाई दक्षिण एशियाकै ठूलो सिमेन्ट उद्योगको रुपमा दाबी गरेको धादिङको बेनिघाट रोराङ गाउँपालिका २ निर्माणाधिन ह्वासिन नारायणी सिमेन्ट उद्योगले स्थानियबासीमाथि ज्यादती गरेको खुलाशा भएको छ ।
मलेखु खोला नै कब्जा गरेर निर्माणाधिन उक्त उद्योगले १३२ केबी लाइनको जलविद्युत प्रशारण लाईन निर्माणका क्रममा आफ्नो जग्गा खाइदिएको पीडितहरुले बताएका छन् ।
उनीहरुले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल विद्युत प्राधिकरण प्रतिनिधि सभाको कृषि, जलस्रोत तथा प्राकृतिक स्रोत समिति लगायत विभिन्न निकायमा उजुरी समेत गरेका छन् ।
उद्योगले स्थानिय हाल मलेशियामा रहेका वडा नम्बर ३ का टंक प्रसाद पाण्डेको नाममा रहेको कित्ता नम्बर १३२ र १३८ को ५ रोपनी २ आना जग्गा जग्गाको बीचबाटै प्रसारण लाइन निर्माण गरेको छ । तर जग्गाधनीलाई कुनै पनि जानकारी समेत नदिई प्रशारण लाइन विस्तार गर्न लागेको
थाहापाएपछि उनकी श्रीमति प्रेम कुमारी पाण्डेले विभिन्न निकायमा गुहार मागेकी छिन् ।
पाण्डेका अनुसार यस विषयमा उद्योगलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई भएको छैन ।
वडाध्यक्ष भूवन त्रिपाठीलाई निवेदन दिन जाँदा उनले समेत निवेदनलाई बेवास्ता गरेको उनको आरोप छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले समेत पीडितको कुरा समेत नसुनेको पाइएको छ ।
पृथ्वी राजमार्गबाट १५ किलोमिटर माथी ताल्तीमा निर्माणाधिन यो उद्योगले उद्योगले २ सय ५० रोपनी मलेखु खोला कब्जा गरेको छ । संसदको सार्वजनिक लेखा समितिले बेनिघाट रोराङ गाउँपालिका र हुवासिन सिमेन्ट उद्योगबीच भएको जग्गा भाडा सम्झौता खारेज गर्न निर्देशन दिएको थियो ।
चिनिया लगानीमा निर्माणाधिन यो उद्योगको ८० प्रतिशत स्वामित्व पनि चीनकै हो । नेपाली व्यापारिक साझेदार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्य हुन् । उनलाई चीनले २० प्रतिशत ‘गिफ्ट शेयर’ दिएको चर्चा हुने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको खास ‘भित्रिया व्यापारी’ मध्ये पर्ने बैद्यले सिमेन्ट उद्योग अवस्थित क्षेत्र धादिङका प्रतिनिधि सभा सदस्य तथा सांसद भूमि त्रिपाठीलाई समेत ‘खरिद’ गरेको आरोप छ । सांसद त्रिपाठीलाई हातमा लिएर सिमेन्ट उद्योगले स्थानियबासीमाथि ज्यादती गरिरहेको छ । सिमेन्ट उद्योगका कारण पीडित बनेकी महिलाको उजुरी सुन्ने प्रारम्भीक निकाय बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष भूवन त्रिपाठी पनि सांसद भूमिकै आफन्त हुन् ।