काठमाडौं, २८ मंसिर । न्याय नपाए गोरखा जानु भनेजस्तै मुद्दा मामिला आइलागे शम्भु थापाकोमा जानु भन्ने उक्ति निर्माण भइसकेको छ । थापा न्याय क्षेत्रका एउटा ब्राण्ड बनिसकेका छन् ।
थापाकै पथमा रहेका रमन कुमार श्रेष्ठ पनि ठूला र ठूला घोटालाका मुद्दामा अघिल्लो पंक्तिमा देखिने अधिवक्ता हुन् ।
त्यसैले उनीहरु दुवैलाई ‘हायर गरेर’ बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अवैध तरिकाले व्यक्तिको नाममा पास गरेको घटनाका प्रमुख अभियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दिप बस्न्यातले सेटिङमा रिहा हुने प्रपञ्च रचेका थिए ।
तर, उनीहरुको बहस र पैरवीले बस्न्यात छुट्न भने पाएनन् । साढे १० महिनापछि अदालतमा आत्मसमर्पण गरेका बस्यातलाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ ।
अख्तियारले सरकारी जग्गा हिनामिना गरेको भन्दै बस्न्यातसहित एक सय ७५ जनाविरुद्ध गत २२ माघ ०७६ मा विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले बस्न्यातसँग ९ करोड ६५ लाख बिगो मागदावी गरेको थियो ।
बस्न्यातको पक्षमा बहस गर्ने थापा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष हुन् । त्यस्तै उनको पक्षमा बहस गर्ने अर्का वकिल रमन कुमार श्रेष्ठ पूर्व महान्याधिवक्ता हुन् । उनीहरु दुवैजना प्रभावशाली अधिवक्तामा पर्छन् । उनीहरुको ‘फि’ समेत निकै महँगो छ । सामान्य नागरिकको पहुँच बाहिरको शुल्क हत्याउने यी दुवै वकिललाई बस्न्यातले आफ्नो पक्षमा बहस गर्न लगाएका थिए ।
बस्न्यातले आफू भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयको सचिव रहँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्न भूमिका निभाएका थिए ।
विशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएका हुन् ।