काठमाडौँ, ३० मंसिर । विवादास्पद बनेको संवैधानिक परिषद बैठक सकिएको छ । बैठक सकिए लगत्तै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न सितल निवास प्रवेश गरेका छन् ।
स्रोतका अनुसार बैठकले आफू निकट व्यक्तिहरुलाई नियुक्त गर्ने विषयमा छलफल भएको छ । छलफलमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा मात्रै उपस्थित थिए । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाका अनुसार बैठकमा नियुक्तीबारे छलफल चलेको थियो । तर, कसलाई नियुक्ती दिइयो भन्ने विषयमा कुनै आधिकारिक जानकारी कुनै निकायबाट आएको छैन ।
सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिनै संवैधानिक परिषद्को बैठक बसेको थियो। मंगलबार दिउँसो आकस्मिक रुपमा जारी भएको संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेशका आधारमा बैठक बसेको हो ।
प्रधानमन्त्री ओलीले आफू निकट व्यक्तिहरुलाई नियुक्त दिने योजनाअनुसार अध्यादेश ल्याएको आरोप छ ।