भारतबाट तेलको मूल्य घटेर आयो, घाटामा रहेको भन्दै निगमले मूल्य नघटाउने

diyopost.com
दियो पोस्ट  बिहिबार, मंसिर १६, २०७८ | २३:००:५३

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ र इन्धनको मूल्य घटाएर पछिल्लो मूल्यसूची पठाएको छ । पछिल्लो सूचीअनुसार पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको भएता पनि निगमले तेलको मूल्य नघटाउने भएको छ । सस्तोमा पेट्रोल/डिजेल पाइएला, यातायात तथा ढुवानी भाडा घट्ला, अरू उपभोग्य वस्तुको बजार भाउ घट्ला  भन्ने आशा अझ १५ दिन आशामै सिमित रहने गरि निगमले निर्णय गरेको छ। निगमले विगतको घाटा पूर्ति गर्न बाँकी रहेको भन्दै अझै १५ दिन तेलको मूल्य नघटाउने स्पष्टीकरण दिएको छ ।

समग्रमा  १५ दिनको नोक्सानी करिब २ अर्ब रुपैयाँ रहेको र नोक्सानीको अवस्था रहेकाले तत्काल मूल्य घटाउन नसकिने निगमले बताएको छ । आइओसीले पठाएको नयाँ मूल्य अनुसार पनि निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १०.३५ रुपैयाँ, डिजेलमा ७.४४ रुपैयाँ घाटा छ । त्यस्तै एलपी ग्यासमा प्रतिसिलिन्डर ७ सय ५८.२५ रुपैयाँ नोक्सानी छ ।

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटेर आए पनि ग्यासको मूल्य थप ९० रुपैयाँले बढेर आएकाले कुनै पनि इन्धनको मूल्य समायोजन नगरिएको आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारतले कर घटाएर सर्वसाधरणलाई राहत दिएको थियो । तर, नेपालमा कर घटाइएको छैन । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित खबर