अध्ययन भन्छ- ‘नयाँ दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावह’

दियो पोस्ट  

एजेन्सी- भारतको राजधानी नयाँ दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावह भएको एक अनुसन्धानले देखाएको छ । वायुको धुलोमा हुने कण (पीएम २ दशमलब ५) सडकमा भन्दा घरभित्र बढी देखिएको अनुसन्धानले देखाएको हो ।

यसका बाबजुद अधिकांश घरपरिवारले प्रदूषण नियन्त्रण गर्न प्रभावकारी कदम नचालेको अध्ययन प्रतिवेदनमा जनाइएको छ । ‘राजधानी नयाँ दिल्ली वारम्बार विश्वकै सबैभन्दा प्रदूषित सहर’ सावित भएको पनि जनाइएको छ ।

युनिभर्सिटी अफ शिकागोको इजर्जी पोलिसी इन्स्टिच्युटले सन् २०१८ देखि सन् २०२० सम्म गरेको सर्वेक्षणमा प्रदूषणबाट दिल्लीका धनी र गरीब सबै परिवार प्रभावित भएको उल्लेख छ । तर, गरीबभन्दा बढी आम्दानी भएका घर परिवारमा वायु स्वच्छ राख्ने संयन्त्र भने १३ गुणा बढी भएको अध्ययनमा जनाइएको छ । ‘तर, समग्रमा भन्नुपर्दा धनी तथा गरीब जोसुकै भए पनि स्वच्छ हावा पाउनबाट बन्चित छन्,’ अध्ययन टोलीका लेखक केनिथ लीले भनेका छन् ।

वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोग दम, ब्रोङकाइटिस, निमोनिया, फोक्सोको क्यान्सरका साथै मुटुरोग, हाइपर टेन्सन, मस्तिष्कघातका बिरामीको संख्या बढ्दै गएको पाइएको छ ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर ७० मानिसको ज्यान जाने गरेको छ ।

यता, काठमाडौं उपत्यकामै पनि ‘पिक आवर’को समयमा वायू प्रदुषण उच्च रहने गरेको छ । अहिलेको समयमा विशेष गरी काठमाडौंको रत्नपार्क, कंलकी र रिङरोडमा प्रदुषणको मात्र बढी देखिन्छ । जसको मुख्य स्रोत सवारी साधन हो । साथै काठमाडौंको निर्माण क्षेत्रबाट आउने प्रदूषण पनि वायूप्रदुषणको कारक हो ।   उद्द्योग, ईटाभटा, निर्माणस्थल, फोहोर तथा कृषिउपजहरु बाल्ने गर्नाले पनि काठमाडौंको वायु प्रदुषण वृद्धि भएको छ । जसको कारण जाडोको समयमा प्रदुषणको मात्रा बढी हुन्छ ।