बोहोराटारमा नेताहरूको बैठक, पौडेललाई नै सर्वसम्मत सभापति बनाउन छलफल

diyopost.com
दियो पोस्ट  शुक्रबार, मंसिर २४, २०७८ | १६:०२:२४

काठमाडौं- नेपाली कांग्रेसको रामचन्द्र पौडेलको समुहले साझा उम्मेदवार तय गर्न छलफललाई तीव्रता दिएका छन् । कांग्रेसको १४ औं महाधिवेशन औपचारिक रूपमा सुरू हुन केही समय बाँकी हुँदा संस्थापनइतर पक्षका नेताहरू साझा उम्मेदवार तय गर्न  पौडेलको निवास बोहोराटारमा भेला भएका छन् ।

लगातारको बैठकमा सहमति जुट्न नसकेपनि निराश भइ राजनीति बाटै सन्यास लिने अभिव्यक्ति दिएका नेता पौडेल भेट्न संस्थापनइतर पक्षका नेताहरू अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, गगनकुमार थापा  पौडेल निवास पुगेका हुन् ।

प्रकाशमान सिंह र शेखर कोइराला सभापति उठ्न अघि बढेपछि पुन: रामचन्द्रलाई नै अगाडि बढाउन छलफल चलिरहेको स्रोत बताउँछ । हिजो राति १२ बजेसम्म बसेको छलफलमा रामचन्द्र पौडेललाई नै उम्मेदवार बनाउने प्रस्ताव गरेको थियो । संस्थापनइतर पक्षमा नेता प्रकाशमान सिंह र शेखर कोइरलाले आफूहरू सभापतिको दौडबाट पछि नहट्ने अडान लिइरहेका छन्।

मनोनयन दर्ता गर्ने समय भोलिका लागि तोकिएको सन्दर्भमा अब पौडेललाई नै सभापतिको उम्मेदवार बनाएर अघि बढ्नेबारे बोहोराटारमा छलफल भइरहेको स्रोतले बतायो । सहमतिका लागि आज बेलुकीसम्म प्रयास गरिने बताइएको छ ।

यसैबीच, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा शेरबहादुर देउवाले प्रस्ताव गरे आफूले समर्थन गर्ने बताएका छन् । ‘सभापति देउवाले पौडेललाई सभापतिमा प्रस्ताव गरे म समर्थन गर्छु, बाधक बन्दिनँ, नभए म पनि सभापतिमा उम्मेदवारी दिन्छु,’ उनले भने ।

केन्द्रीय सदस्यहरुको बैठकमा नेता कोइरालाले प्रकाशमानले स्वीकारे आफूलाई पौडेललाई स्वीकार्न गाह्रो नहुने बताएका थिए । तर अहिलेको अवस्थमा आफ्नो नाममै सहमति हुनुपर्ने उनको अडान थियो । यता प्रकाशमान निकै अघि बढिसकेका छन् । उनले सभापतिको दौडबाट आफू पछि नहट्ने बताउँदै भोलि उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।

कांग्रेस संस्थापन पक्षले प्रधानमन्त्री एवम् वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई सभापतिको लागि उम्मेदवार छनोट गरिसकेको छ ।

सम्बन्धित खबर