देउवालाई सहयोग गर्ने प्रकाशमानको निर्णयमा विश्वप्रकाश शर्माको समर्थन

diyopost.com
दियो पोस्ट  मंगलबार, मंसिर २८, २०७८ | १४:५०:४७

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिकाे दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्ने  घोषणा गरेका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने बताएका हुन् ।

मंगलबार बिहान चाक्सीबारीमा भएको भेटवार्तामा सभापतिको निर्वाचनमा सिंहले देउवालाई समर्थन गर्ने सहमति भएको हो । सिंहकाे निर्णयसँगै देउवालाई सभापतिकाे चुनाव जित्न सहज हुने आँकलन गरिएकाे छ । 

हामीबीचको छलफलमा उहाँ (देउवा)ले विधान संशोधन गर्न, कमीकमजोरीप्रति सल्लाह गरेर सुधार्न, कार्यशैली सुधार्ने वचन दिनुभएको छ,’ सिंहले भने, ‘उहाँको सो प्रतिबद्धतापछि म, सुजाता कोइरालासहितले उहाँलाई समर्थन गर्ने निर्णय गरेका छौँ ।’ सिंहको समर्थनसँगै देउवा सभापतिमा निर्वाचित हुने सम्भावनालाई बलियो बनाएको छ ।

सिंहले शेरबहादुर देउवालाई सहयोग गर्ने निर्णयप्रति विश्वप्रकाश शर्माले समर्थन जनाएका छन् । शर्मा सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् ।

‘सर्वसम्मति सर्वोत्तम ! दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु- नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु,’ शर्माले ट्विटमार्फत भनेका छन् ।

दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा हुनेछ । 

सम्बन्धित खबर