दैलेखमा श्रीमनको बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको मृत्यु, एक छोरा गम्भीर घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  दैलेखमा श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका श्रीमती र दुई छोराछोरीको उपचारको क्रममा मृत्यु भएको छ । गम्भीर घाइते भएका अर्का एक छोरा अस्पतालमा उपचाररत छन् ।

घाइते भएका ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिस्मा सलामीको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चामुण्डा बिन्द्रासैनी नगरपालिका-३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले सामान्य घरायसी विवादका क्रममा आज बिहान करिब ९ः३५ बजे दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीमाथि अन्धाधुन्ध प्रहार गरेका थिए ।

घाइते चारै जनालाई तत्काल उद्धार गरी एम्बुलेन्समार्फत दुल्लुस्थित नगर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले बिहान ११ः१० बजे तपेन्द्र र करिस्मालाई मृत घोषणा गरेका थिए ।

गम्भीर घाइते मनिषा र ६ वर्षीय छोरा मिलनलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ रेफर गरिएको थियो । प्रदेश अस्पतालमा उपचारका क्रममा मनिषाको दिउँसो २ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

६ वर्षीय मिलनको भने सोही अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

घटनामा संलग्न अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

सम्बन्धित खबर