काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)पार्टीमा प्रवेश गर्ने चर्चा सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भुसालको टिकट खोसेपछि उनले एमाले परित्याग गरेका हुन् ।
उनले एमाले परित्याग गरि रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । तत्कालीन सत्ता गठबन्धनको भागबन्डामा रूपन्देही-१ माओवादीको भागमा परेको थियो । माओवादीले कुनै उम्मेदवारी नै नदिई भुसाललाई समर्थन गरेको थियो ।
तर, पनि उनी आफ्नै पूर्वसहकर्मी एमालेका छबिलाल विश्वकर्मासँग पराजित भए । उनी पछिल्लो समय एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा सुरु भएको छ । आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव गंगालाल तुलाधरले नेता भुसाल आफ्नो पार्टीमा आउने चर्चा सत्य रहेको बताए ।
उनले भने, ‘घनश्याम जीलाई हाम्रो पार्टीमा ल्याउने प्रयास गरेका छौं । आउने सम्भावना पनि छ । उहाँ आफै पनि आउनको लागि पहल गर्दै हुनुहुन्छ ।’ गठबन्धनले समर्थन गरेपछि भुसाल माओवादी केन्द्र प्रवेश गर्ने चर्चा पनि नभएको होइन । प्रचण्डले उनलाई आफ्नो पार्टीमा ल्याउनकै लागि आफ्नो भागमा परेको निर्वाचन क्षेत्रमा कुनै उम्मेदवारी नै नदिई उनलाई समर्थन गर्ने निर्णय गरे । जसले गर्दा उनले सत्ता गठबन्धनको समर्थन पाए ।
उनी निर्वाचनको समयमा माओवादीको एक कार्यक्रममा पनि सहभागी भएका थिए । उनी माओवादीको निर्वाचन चिन्हसहितको एक कार्यक्रममा सहभागी भएपछि उनलाई माओवादी प्रवेश गर्न लागेको चर्चा समेत भयो ।