काठमाडौं । सरकारी कार्यालयबाट हुने सेवा प्रवाहमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर चासो देखाएका छन् । राहदानी लिन सर्वसाधारण नागरिकले बिहानैदेखि लाइनमा बस्नु परेकोमा प्रचण्डले सचिवहरूसँग प्रश्न गरेका हुन् ।
सोमवार सचिवहरूसँगको ब्रिफिङ सुनेपछि मंगलवार प्रधानमन्त्रीले सचिवहरूलाई ३० बुँदे निर्देशन दिएका थिए । सरकारका एक सचिवले नागरिकहरूले सरकारी सेवा प्रवाहमा पाइरहेको सास्तीबारे प्रधानमन्त्रीले गम्भीर चासो जनाएको बताए । ‘सरकारी कामको लागि नागरिकले जता पनि लाइन बस्नुपर्ने अवस्था किन आयो रु यो कहिले समाधान हुन्छ भनेर प्रधानमन्त्रीले चासो राख्दै निर्देशन दिनुभएको छ’, ती सचिवले भने ।
मन्त्रिपरिषद्को पहिलो बैठकमार्फत सरकारी सेवा प्रवाहलाई सहज बनाउने निर्णय भएको स्मरण गर्दै प्रचण्डले एक महिनामा लाइन हटाउने व्यवस्था गर्न सचिवहरूलाई निर्देशन दिएका हुन् ।
‘अहिले तपाईं हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान दुई बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ । राष्ट्रिय परिचय पत्र लिने सास्ती उत्तिकै छ । त्यो परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर हामीसँग छैन’, मंगलवार सिंहदरबारमा सचिवहरूलाई निर्देशन दिँदै प्रचण्डले भने, ‘अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्रको काम हुने हो भने तीन करोड नेपालीको हातमा परिचयपत्र पुग्न दशकौ लाग्छ । सवारी चालक अनुमति पत्र लिन पनि वर्षौँ कुर्नुपर्ने अवस्था छ । यसतर्फ तत्काल ध्यान दिनुपर्यो ।’
सरकारी सेवा लिनको लागि जनताले पाइरहेको सास्ती कम नगरे सम्बन्धित अधिकारीलाई विभागीय कारबाही हुनेसमेत प्रधानमन्त्रीले चेतावनी दिएका छन् ।