काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ । शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए ।
उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले विगतमा परेका केही उजुरीको विषयमा छानबिन गर्नुपर्ने भएकाले ‘भित्रै बस्न’ निर्देशन भएको बताए । आर्थिक अनियमततामा संलग्न रहेको पाइएपछि शाहीलाई नियन्त्रणमा लिइएको हो । शाही यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका नजिकका अधिकृत मानिन्थे । उनको शैक्षिक प्रमाण पत्रमा दुईथरिको उमेर देखिएको थियो ।
सैनिक मुख्यालयको अभिलेख अनुसार उनी २० पुसमा अवकाशमा जाँदै थिए । अवकाशको १५ दिन अघि बिदा बस्ने परम्परा अनुसार उनी बिदामा बसेका थिए । त्यही बीच अदालतले उनको एक वर्ष जागिर लम्बिने गरी आदेश दिएको थियो । शाही १५ दिनदेखि विदामा थिए ।