काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने निश्चित भएको छ । सात दलीय गठबन्धनको चौथो ठूलो दल राप्रपाले अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।
सरकार गठन भएको एक सातासम्म सरकारमा जाने कि नजाने भन्नेमा अनिर्णित थियो । बुधबार बसेको पार्टीको बैठकले अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।
अध्यक्ष लिङ्देन उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय लिएर सरकारमा जाने भएको हो । यसअघि राप्रपालाई दुई मन्त्रालय दिने प्रस्ताव गरिएको थियो । तर, राप्रपाले तीन मन्त्रालय दाबी गर्दै आएको थियो ।
राप्रपाबाट अध्यक्ष लिङ्देनसँगै महामन्त्री डा. धवल शम्सेर जबरा, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान मन्त्रीका मुख्य दाबेदार देखिएका छन् । प्रत्यक्ष निर्वाचित राप्रपाका ७ सांसदमध्ये दीपक बोहोरा र विक्रम पाण्डेबाहेकबाट मन्त्री बन्ने सम्भावना रहेको छ ।