काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग भेट गरेका हुन्।
प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको बताउँदै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गरे।
गत बिहीबार राति कम्बोडियाको डायमण्डसिटी र क्यासिनोमा आगलागी हुँदा झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको थियो। उक्त घटनामा परेर कम्तीमा १९ जनाले ज्यान गुमाएका थिए।