काठमाडौं । गत पौष १० गते राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष १६६ सांसदसहित प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेश गर्यो । सोही दिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) प्रधानमन्त्रीमा नियुक्त भए । नियुक्तिको भोलिपल्टै अर्थात् पौष ११ गते पचण्डसँगै अन्य ७ जना मन्त्रीहरुले समेत शपथ ग्रहण गरे । प्रधानमन्त्री, तिन उपप्रधान र चार जनासहित ८ सदस्यीय मन्त्रीमण्डल गठन भयो ।
८ सदस्यीय मन्त्रीमण्डलमा प्रधानमन्त्रीसहित ३ जनाको आआफ्नै मन्त्रालय छुट्ट्याइएको छ भने अन्य ४ जना मन्त्रीहरू विना विभागीय छन् । माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेकपा (एमाले)का विष्णु पौडेलले उपप्रधानसँगै अर्थ मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रालय पाएको हो । अन्य चार जना भने विनाविभागिय नियुक्त भएका छन् ।
एमालेका ज्वाला कुमारी शाह, दामोदर भण्डारी, राजेन्द्र राई र जनमत पार्टीका अब्दुल मिया विनाविभागिय मन्त्रीका रूपमा नियुक्त भएका हुन् । सत्ता समीकरणको सहकार्यमा भागबन्डाको कुरा नमिल्दा विनाविभागिय मन्त्रीहरूको दैनिकीबारे जनताले चासो देखाएका छन् ।
सिंहदरबार स्रोतका अनुसार विनाविभागिय मन्त्रीहरूको दैनिकि घाम ताप्ने र शुभचिन्तकहरूलाई भेटेर सक्किने गरेको छ । ‘मन्त्रीज्यूहरू हाजिर गरेर मज्जाले घाम ताप्नुहुन्छ अनि फर्किनुहुन्छ,’ सिंहदरबार स्रोतले दियोपोस्टसँग भन्यो,‘शुभकामना लिन भ्याई नभ्याई हुन्छ उहाँहरूलाई, सिंहदरबार मै पनि धेरै मान्छे आउँछन्, क्वाटरमा झन् धेरै होलान् ।’
प्रधानमन्त्रीकै जिम्मामा १९ मन्त्रालय
मन्त्रीमा नियुक्त भए पनि कुनै विभाग नभएका कारण नवनियुक्त मन्त्रीहरू बाह्य कुरामा नै समय बिताउन थालेका छन् । यद्यपि प्रधानमन्त्रीले भने १९ वटा मन्त्रालयको जिम्मेवारी लिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले रक्षा ,सङ्घीय मामिला तथा सामान्य प्रशासन,कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण ,सञ्चार तथा सूचना प्रविधि,कानुन, न्याय तथा संसदीय मामिला,ऊर्जा, जलस्रोत तथा सिँचाई, खानेपानी,परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण,युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी लिएका हुन् ।
सत्ता साझेदारी दलभित्र भागबन्डाको कुरा नमिल्दा कुन मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने विषय नै अन्योलमा छ । भागबन्डा पुराउनकै लागि मन्त्रालय टुक्र्याउने चर्चा पनि चलेको थियो तर मन्त्रालय टुक्र्याउने वा बढाउने विषयमा केही पनि छलफल नभएको प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएका छन् ।