काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ।
लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि सुनुवाइ जारी छ। उक्त रिटमाथि पक्ष विपक्षमा वकिलहरुले बहस गरिरहेका छन्।
शुक्रबार रिट निवेदक युवराज पौडेल ुसफलुको तर्फबाट बहस गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले गृहमन्त्रीसमेत रहेका रवि अमेरिकी नागरिक नै रहेको तर्क गरे। उनले अमेरिकी पासपोर्टमा भिसा लगाएर आएको व्यक्तिलाई नेपाली नागरिक मान्न नसकिने बताए।
‘रवि लामिछाने अमेरिकी पासपोर्टमा भिसा लिएर नेपाल आएका हुन्। यो कुराले उनी गैरनेपाली हुन् भन्ने पुष्टि गर्छ’, उनले भने, ‘नेपाली नागरिकले नेपाल आउँदा त भिसा लिनुपर्दैन नि१ अमेरिकी पासपोर्टमा आएका उनले नेपाल आउँदा राष्ट्रियता पनि अमेरिकी भनेर जनाएका छन्।’
रविले यसअघि दिएको जवाफमा नेपालको औधि माया लागेको बताएको प्रसंग पनि उनले कोट्याए। ‘रविले यसअघि दिएको जवाफमा नेपालको औधि माया भएको बताएका छन्’, उनले बहसका क्रममा भने, ‘तर रविले नेपाल आउनेबित्तिकै किन अमेरिकी नागरिकता र पासपोर्ट त्यागेनन् ? तीन वर्षसम्म किन राखेर अमेरिकी नागरिककै रुपमा काम गरिरहे ?’