काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धन सरकारलाई एकीकृत समाजवादीले पनि समर्थन गर्ने संकेत गरेको छ। सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष माधवकुमार नेपालले यस्तो संकेत गरेका हु्न्।
‘भोलि त विश्वासको मत लिनु छ। यो कार्यकाल कति दिनको भन्ने आउला, तपाईंहरुको बहुमत संख्या पुगिसकेको छ। सबैले यो देशमा राजनीतिक स्थायित्वको अपेक्षा पनि गरेका छन्,’ नेपालले सम्बोधनका क्रममा भने, ‘हामी चाहँदैनौँ छिनछिनमा सरकारहरु परिवर्तन होस्। विगतका अनुभवले हामीलाई केही शिक्षा दिएको छ। विगतको शिक्षाबाट राम्रो ढंगले शिक्षा ग्रहण गरेर अघि बढ्न सक्नुपर्छ।’
राष्ट्रियताको सम्वर्द्धन र राष्ट्रियतको रक्षामा सबैले गम्भीरताका साथ लाग्नुपर्ने पनि उनले बताएका छन्।
‘संघीयतालाई अझै समृद्ध बनाउनुपर्नेछ। समाजवादको मूल्य र मान्यतालाई आत्मसाथ गरेर न्याय समानताको बाटोमा अघि बढ्नुपर्छ’, उनले भने, ‘सबैभन्दा ठूलो समस्या भ्रष्टाचार, अनियमितता, चरम ढिलासुस्ती, दण्डहीनता व्यापक रुपमा फैलिएको छ, तपाईंहरुले यी कुरामा प्रतिवद्धता पालना गर्नुपर्छ।’ अध्यक्ष नेपालले संसद बैठकपछि पत्रकारहरुसँग बोल्दै विश्वासको मतको लागि भोलि बिहान बैठक बस्ने बताए। ‘भोलि बिहान बैठक बस्छौँ। त्यसमै निर्णय गर्छौँ, अरु दलसँग पनि संवाद गर्छौँ’, उनले भने, ‘वाम एकता गर्न पार्टी विशेष भनिरहेका छैनौँ। कानुन बनाउने जिम्मेवारी छ। अधुरा कामहरू छन्। जनताका पीर मर्का सम्बोधन गर्नुपर्नेछ।’