जुनसुकै समयको भ्रष्टाचार छानबिन गर्ने शक्तिशाली आयोग बनाइने

न्यूनतम साझा कार्यक्रम

दियो पोस्ट  

काठमाडौं । सत्ता साझेदार दलहरुले सरकारका लागि जारी गरेको न्यूनतम साझा कार्यक्रममा जुनसुकै कार्यकालमा भ्रष्टाचार भएको भएपनि छानबिन गर्न सक्ने शक्तिशाली आयोग बनाउने घोषणा गरिएको छ।

उपप्रधान एवम् उपप्रधानमन्त्री विष्णु पौडेलले सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै यस्तो आयोग निर्माणको घोषणा गरेका हुन्। उनले आयोगको संरचनाबारे भने केही उल्लेख गरेनन्।

भ्रष्टाचार नियन्त्रण र अनुसन्धान गरी मुद्दा दायर गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुदाँ हुँदै सरकारले यस्तो आयोग गठन गर्ने कार्यक्रम ल्याएको हो।

सरकारी निकायअन्तर्गत नै अनियमितताको अध्ययन गर्न राष्ट्रिय सर्तकता केन्द्र तथा सम्पत्ति शुद्धीकरण विभाग रहेका छन्। नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत लगायत दलको साझा कार्यक्रममा यस्तो आयोगले जुनसुकै समयमा भएको भ्रष्टाचार पनि छानविन गर्ने उल्लेख छ।

विगतमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनकालमा शाही आयोग गठन गरेका थिए। उक्त आयोगले पनि जुनसुकै भ्रष्टाचारमा हदम्याद नलाग्ने गरी छानबिन गर्ने अधिकार पाएको थियो। उक्त आयोगलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो।