‘मेरो नेतृत्वकालमा दोहोरो कुरा होइन, कार्यक्रम लागू गरिन्छ’

न्यूनतम साझा कार्यक्रम

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई सफल बनाउन सम्पूर्ण तागत लगाउन निर्देशन गरेका छन् ।

सोमवार आयोजित सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले जनताको अभिमतअनुसार गठबन्धन सरकार बनेको बताए ।

‘म प्रधानमन्त्री भएको छु, मैले यसलाई नयाँ ठानेको छु । दृढताका साथ अगाडि जानुको कुनै विकल्प छैन,’ उनले भने, ‘दलहरूको समर्थन, सबैभन्दा ठूलो दल एमालेको पूरै समर्थक रहने प्रतिबद्धता सुनिसक्नुभएको छ ।’

सरकारलाई सफल पार्नतिर लाग्न उनले कर्मचारीतन्त्रलाई आग्रह गरे । ‘सरकार कसरी जाला भन्ने प्रश्न थियो, सरकार गठन भएकै दिन, शपथ खाएकै दिन भनेको हो – जनताको अभिमत जसरी व्यक्त भयो, त्यसैअनुसार सरकार बनेको हो । यसलाई सहज रूपमा लिनुपर्छ र सफल बनाउन सम्पूर्ण तागत लगाउनुपर्छ । साझा कार्यक्रम लावारिसे, बेवारिसे हुने छैन, विशेष किसिमले ध्यानाकर्षण गराउन चाहन्छु ।’

साझा कार्यक्रम नै एकताको आधार भएको उनले बताए । ‘साझा कार्यक्रम हाम्रो एकताको आधार हो, यसलाई कार्यान्वयन गर्नुपर्छ । यसलाई दृढतापूर्वक कार्यान्वयन गर्न कर्मचारीतन्त्रलाई विशेष रूपले भन्न चाहन्छु – तपाईंको क्षमता, अनुभव, दक्षताप्रति पूरै विश्वास छ । दृढ इच्छाशक्तिको अभाव भनौं या क्षमताको उपयोग नहुँदा, अब त्यस्तो हुने छैन । मेरो नेतृत्वकालमा दोहोरो कुरा होइन, कार्यक्रम लागू गरिन्छ । कसैको दबाब, त्रास, प्रलोभनमा नपरी राष्ट्र र जनताको निम्ति अपरिहार्य भएको छ ।’