प्रचण्डलाई कांग्रेस र एकीकृत समाजवादीले विश्वासको मत दिने सम्भावना कति ?

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली (मंगलबार) विश्वासको मत लिदैँ छन् । गत ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका उनले २६ गते विश्वासको मत लिन खोजेका हुन् । नेकपा (एमाले) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ती पार्टीसहित सात दलले नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि सिफारिस गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदारी सात दलसँगै नेपाली काँग्रेसले समेत आफुलाई विश्वासको मत दिने आकाँक्षा राखेका छन् । प्रचण्डले पुरै संसदका सबै सांसदहरुले आफुलाई विश्वासको मत दिने बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको वैठकबाट निस्किदै गर्दा सञ्चारकर्मीहरुसँग बोल्दै उनले ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिंगै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ ।’ बताएका हुन् ।

प्रचण्डले सोमबार विहान पार्टी संसदीय दलमा आफूलाई कांग्रेसको समर्थन आउने सम्भावना रहेको बताएपछि नयाँ राजनीतिक सम्भावनाबारे विमर्श सुरु भएको छ । प्रचण्डले यसबारे पार्टी बैठकमा विस्तृत त बताएनन्, तर उनले त्यो सम्भावनातर्फ संकेत गरेका हुन् ।

‘कांग्रेससँग पनि मैले विश्वासको मत मागेको छु, त्यस पार्टीका नेताहरु मैले आफूप्रति सकारात्मक रहेको पाएँ, नतिजा एकदमै राम्रो आउन पनि सक्छ’ उनलाई उद्धृत गर्दै माओवादी केन्द्रका सांसदले बताए ।

हुन त यो बीचमा नेपाली कांग्रेसले अघिल्लो सत्ता गठबन्धनलाई पुनर्जीवित गर्ने प्रयास नगरेको होइन । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिएर गठबन्धनको आशा जीवित राख्ने कांग्रेसको संकेत छ ।

माओवादी केन्द्रसँग दूरी नबढाउने उद्देश्य सहित कांग्रेसले विश्वासको मत दिने सम्भावनालाई कांग्रेसका नेताहरु नकार्दैनन् । वर्तमान सरकारमा कुनै पनि समय समस्या उत्पन्न हुने आकलनले कांग्रेसले नयाँ रणनीति तय गरेको छ । सत्ता सहकार्यका लागि माओवादी केन्द्र नै प्रमुख सारथि हुने निष्कर्षमा कांग्रेसका नेताहरु पुगेका छन् ।

त्यस्तै सात दलीय गठबन्धन सरकारलाई एकीकृत समाजवादीले पनि समर्थन गर्ने संकेत गरेको छ । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष माधवकुमार नेपालले यस्तो संकेत गरेका हु्न् ।

‘भोलि त विश्वासको मत लिनु छ । यो कार्यकाल कति दिनको भन्ने आउला, तपाईंहरुको बहुमत संख्या पुगिसकेको छ । सबैले यो देशमा राजनीतिक स्थायित्वको अपेक्षा पनि गरेका छन्,’ नेपालले सम्बोधनका क्रममा भने, ‘हामी चाहँदैनौँ छिनछिनमा सरकारहरु परिवर्तन होस् । विगतका अनुभवले हामीलाई केही शिक्षा दिएको छ । विगतको शिक्षाबाट राम्रो ढंगले शिक्षा ग्रहण गरेर अघि बढ्न सक्नुपर्छ ।’ राष्ट्रियताको सम्वर्द्धन र राष्ट्रियतको रक्षामा सबैले गम्भीरताका साथ लाग्नुपर्ने पनि उनले बताएका छन् ।

‘संघीयतालाई अझै समृद्ध बनाउनुपर्नेछ । समाजवादको मूल्य र मान्यतालाई आत्मसाथ गरेर न्याय समानताको बाटोमा अघि बढ्नुपर्छ’, उनले भने, ‘सबैभन्दा ठूलो समस्या भ्रष्टाचार, अनियमितता, चरम ढिलासुस्ती, दण्डहीनता व्यापक रुपमा फैलिएको छ, तपाईंहरुले यी कुरामा प्रतिवद्धता पालना गर्नुपर्छ ।’ अध्यक्ष नेपालले संसद बैठकपछि पत्रकारहरुसँग बोल्दै विश्वासको मतको लागि भोलि बिहान बैठक बस्ने बताए। ‘भोलि बिहान बैठक बस्छौँ । त्यसमै निर्णय गर्छौँ, अरु दलसँग पनि संवाद गर्छौँ’, उनले भने, ‘वाम एकता गर्न पार्टी विशेष भनिरहेका छैनौँ । कानुन बनाउने जिम्मेवारी छ । अधुरा कामहरू छन् । जनताका पीर मर्का सम्बोधन गर्नुपर्नेछ ।’