काठमाडौं । पोखरा महानगरपालिकाका एक वडा अध्यक्षलाई वडा कमिटी सदस्यमाथि भेदभावपूर्ण गाली गरेको आरोपमा पोखरा प्रहरीले पक्राउ गरेको छ ।
वडा सदस्य मैया नेपालीले आइतबार दिएको उजुरीका आधारमा नगरको वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक (इन्सपेक्टर) ज्ञानबहादुर खड्काले दियोपोस्टलाई जानकारी दिए । दलित समुदायका नेपालीले माघ १६ गतेको बैठकमा अध्यक्ष अधिकारीले गाली गरेको उजुरीमा दाबी गरेका छन् ।
अधिकारीमाथि गालीगलौजको आरोप लागेको यो पहिलो पटक नभएको स्रोतले जानकारी दिएको छ । एक पटक उपमेयरको कार्यालयमा उजुरी परे पनि उपमेयर मञ्जु गुरुङले समझदारीमा समस्या समाधान गर्न भनेकी थिइन् ।अधिकारीलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालतमा पेश गरिएको इन्स्पेक्टर खड्काले बताए ।