सिन्धुपाल्चोकको प्रख्यात र चर्चित पर्यटकीय गन्तव्य हो– सुनकोसी । यही नदि किनारमा संचालित एक रिसोर्टले वन र बगर अतिक्रमण गरेको पाइएको छ ।
सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ९ कदमबासमा संचालित सुकुटे विच रिसोर्टले ३२ रोपनीभन्दा बढी सरकारी वन र वगर अतिक्रमण गरेको फेला परेको छ ।
विगत २५ वर्षदेखि संचालनमा रहेको सुकुटे ‘विच’ रिसोर्टको नाममा जम्मा चार रोपनी मात्रै छ । तर, रिसोर्ट भने ३३ रोपनी क्षेत्रफलमा फैलिएको छ । उसले अहिले पनि जग्गा भोगचलन गरेवापत भाडा दिएको छैन । रिसोर्ट संचालित भएको क्षेत्र वन क्षेत्र भित्र पर्छ । वन क्षेत्र भित्र बनेको अवैध संरचना हटाउने काम जिल्ला स्थित डिभिजन बन प्रमुखको हो । तर, जिल्ला स्थित डिभिजन वन प्रमुख भने बेखबर जस्तै बनेर रिसोर्ट संचालकहरुलाई रजाइँ गर्न दिइरहेका छन् तर दुबै निकाय मुक दर्शक बनेका छन ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई यो विषय थाहा नभएको होइन । उनी यही बाटो हजारौँ पटक आहोदोहोर गर्छन् । तर, उनी देखे पनि नदेखेजसरी हिँडेका छन् । पछिल्लो समय गृह मन्त्रालयले सरकारी जग्गा हडपे त्यस्ता जग्गा फिर्ता ल्याउन निर्देशन नै दिएपनि परिपालना भएको छैन ।
स्थानिय जनताले विरोध गरेपनि खासै सुनुवाई भएको छैन । तर जिल्ला समन्वय समिती, जिल्ला वन कार्यालय र प्रहरी प्रशासनकै मिलेमतो भएपछि जनताको आवाज दबाईएको स्थानियहरु बताउँछन् । बगर र बनको जग्गा भाडामा दिन कुनै पनि निकायले सार्वजनिक सुचना निकाल्नुपर्छ । त्यतिमात्रै होइन वन क्षेत्रको जग्गा भाडामा लिन पाइँदैन । वन क्षेत्रको जग्गा भाडामा लिन मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्छ । सुकुटे विचका संचालकहरुले त्यो त गराएकै छैनन् । शक्तिकेन्द्रलाई रिझाएको भरमा उनीहरुले वन क्षेत्रमा रजाइँ गर्दै आएका छन् ।
विचका संचालक महेन्द्र थापा हुन् । उनले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक ‘मुड फ्रेस’ गराउन सुकुटे विचमा सयर गराउने गरेका छन् । प्रधानमन्त्रीकै नाम लिएर संचालक थापाले सरकारी निकायमा धम्की दिने र आतंक मच्चाउने गरेको स्रोतले बतायो ।
यो रिसोर्टले वडा अध्यक्षलाई समेत थामथुम बनाउँँदै आएको स्थानीयको भनाइ छ । राजनीतिक आडमा वन र बगर मिच्दै रिसोर्ट चलाएको सुकुटे विचमा अनेकौ घटना हुने गरेको छ । यो रिसोर्ट भित्र बलात्कारको घटना समेत हुने गरेको छ । केही युवाले लागु औषध कारोबार गरेको घटना समेत सार्वजनिक भएको थियो ।
गत असार १८ गते उक्त विचमा बलात्कारको घटना भएको थियो । घटना हुँदा कर्मचारीकै चरम लापरबाही भएको प्रहरीको ठम्याई थियो । मदिराले बेहोस भएकी एक युवतीलाई बलात्कार भएको घटना गुपचुपमै मिलाईएको थियो । भोली पल्ट विहान रिसोर्टमा पैसा तिर्न युवतीले कोशिस गर्दा पर्स नै हराएपछि पर्स खोज्दा उनले आफूमाथि बलात्कार भएको थाहा पाएकी थिइन् ।
हराएको पर्स खोज्ने क्रममा सिसिटिभी फूटेज हेरिएको थियो । सिसिटिभी फूटेज हेर्दा युवतीमाथि बलात्कार भएको भिडियो फेला परेको थियो । यो घटना लुकाउन थापाले राजनीतिक शक्तिको आड लिएको आरोप छ । प्रहरीले मुद्दा दर्ता गरेर संचालक थापा र कर्मचारीलाई समेत बयान लिएको थियो । राजनीतिक शक्तिको आड देखाउँदै प्रहरीलाइ प्रभावमा पार्न खोजेपनि प्रहरीले आफ्नो भूमिका निभाएको थियो । अहिले थापाले रिसोर्टमा राती आठ बजेपछि प्रहरीलाई समेत रिसोर्ट प्रवेश गर्न दिँदैनन् ।
सिन्धुपाल्चोकमा रिसोर्ट व्यावसायहरुको साझा संगठन सिन्धु पर्यटन छ । तर संघले उनलाई पटकपटक सचेत रहन आग्रह गरेपनि उनले त्यसको बेवास्ता गर्दै आएका छन् । केही समय अघि सुकुटे विच रिसोर्टको संचालक महेन्द्र थापा संघको कोषाध्यक्ष थिए तर उनलाई अन्य रिसोर्ट संचालकले पटकपटक सम्झाएर रिसोर्टमा भएका गतिविधि रोक्न आग्रह गर्दा समेत उनले नमानेपछि अहिले उनलाई संघबाट निष्काशन गरिएको छ । सिन्धु पर्यटन संघका अध्यक्ष नारायण श्रेष्ठलाई बुझ्दा उनले संघ र नियम बिपरित काम गर्दै आएकोले संघले उनलाई निष्काशन गरेको बताए ।
श्रेष्ठ भन्छन्, ‘हामीले रिसोर्ट चलाउँदा पैसा मात्रै हेरेर हुदैन आउने पर्यटकको लागि सेवा सुबिधा र सुरक्षा प्रत्याभुती हुने खालको व्यवहार गरे मात्रै पर्यटकको लागि राम्रो हुने छ,’ उनले भने,‘ त्यसैले हामीले हाम्रो अन्य रिसोर्टमा घुम्न आउने पर्यटकको लागि सेवा सुबिधाको लागि राम्रो प्रबन्ध मिलाएका छौँ ।’
रिसोर्टले अतिक्रमण गरेको जग्गाको विषयमा प्रतिक्रिया लिन सिन्धुपाल्चोक चौतारा साँगाचोकढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटालाई पटक पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।