काठमाडौं । उच्च अदालत पाटनले क्रिकेट सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी आज थुनामुक्त नहुने भएका छन् ।
उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । आज सबै प्रक्रिया पूरा गर्न नसकिएकाले उनी थुनामै रहने उनका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।
सन्दीप भोलि मात्र थुनामुक्त हुनेछन् । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । नाबालिग बलात्कार मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सो आदेशविरुद्ध उनी उच्च अदालत पुगेका थिए ।
उच्चले जिल्लाको आदेश उल्ट्याउँदै थुनामुक्त गर्न आदेश दिएको हो । अब उनी जेल बाहिर बसेर बलात्कारविरुद्धको मुद्दा लड्नेछन् ।सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो ।प्रहरीका अनुसार काठमाडौंको एक कलेजमा प्लस टु अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो ।
सामाजिक सञ्जालमार्फत लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेको पीडितको भनाइ थियो । लामिछाने त्यसबेला टी–२० सिरिज खेल्न केन्या जाने तयारीमा थिए । अघिल्लो दिन ५ भदौमा नयाँ बानेश्वरस्थित होस्टलबाट लिएर भक्तपुर दरबार स्क्वायरबाट नगरकोटसम्म लगेको पीडितको बयान छ । नियतवश नगरकोटमा धेरैबेर अल्मल्याएर अवेर मात्र काठमाडौं फर्काएको उनको भनाइ थियो ।
पिंगलास्थानस्थित होटल काठमाडौं इनमा आइपुग्दा राति ११ः५५ भइसकेको थियो । पीडितको भनाइमा उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर लामिछानेले एउटा मात्र कोठा खाली भएको भन्दै कोठा नम्बर ३०५ मा दुवैजना बस्नुपर्ने बताएका थिए । त्यहीँ राति आफूमाथि दुई पटक जबरजस्ती करणी भएको पीडितको भनाइ छ ।
प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान थालेपछि लामिछाने एक महिनासम्म फरार भएका थिए । पछि इन्टरपोटलमा पनि उनीविरुद्ध नोटिस जारी भयो । इन्टरपोलले फ्लोरिडाको एक होटलमा उनलाई लोकेट गरेपछि लामिछाने ‘आत्मसमर्पण गर्ने’ भन्दै फर्किएर नेपाल आएका थिए ।