काठमाडौं । यातायात व्यवस्था कार्यालय, सुकेधाराका पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलमाथि गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा १ करोड ६ लाख रुपैंया विगो मागदावी सहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल हाल राष्ट्रिय भूमि आयोग, ताहाचलमा कार्यरत छन् । उनी शाखा अधिकृत स्तरका कर्मचारी हुन् ।
१ असार २०४६ मा सेवा प्रवेश गरेका उनीमाथि उजुरी परेपछि अख्तियारले १५ फागुन २०७८ सम्मको सम्पत्ति जाचबुझ गरेको थियो ।
त्यसक्रममा उनले ४ करोड ३७ लाख रुपैंया सम्पत्ति जोडेको भेटिएको छ ।