सिभिल मलमा एक युवकद्वारा आत्मदाहको प्रयास, कीर्तिपुरमा उपचार हुँदै

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

बिहीबार बिहान सवा ११ बजे काठमाडौं महानगरपालिका–१६ का २९ वर्षीय विसङ गुरुङले सिभिल मलको भुइँतलामा आफ्नै शरीमा पेट्रोल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।

उनको शरीरको आगो स्थानीय र सिभिल मलका सुरक्षा गार्डले निभाएका थिए। घटनालगत्तै पुगेको प्रहरी वृत्त जनसेवाको टोलीले गुरुङलाई उद्धार गरि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो। त्यसपछि उनलाई थप उपचारका लागि कीर्तिपुर मोडेल अस्पताल रेफर गरियो।

उनको अहिले कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेश मैनालीले बताए। गुरुङको अनुहार र शरीरका विभिन्न भागमा आगोले जलेको छ।