स्वास्थ्यमन्त्री गिरी र स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीबिच मतभेद !

दियो पोस्ट  

काठमाडौं । सामाजिक सञ्जालमा पछिल्लो समय एउटा तस्बिर निकै आलोचित बनेको छ । उक्त तस्बिर नेपालका स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीको हो । सो तस्बिरमा स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्यमन्त्रीले रिबन काटेका छन् । दुई वटा रिबन राखिएको उक्त उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्री गिरीले माथिल्लो रिबन काटेको र स्वास्थ्य राज्यमन्त्री कार्कीले तल्लो रिबन काटेको भन्दै सो तस्बिर आलोचित बनेको छ ।

आलोचनाकै बिच गत माघ ३ गतेमात्रै मन्त्रीमा नियुक्त भएका दुवैजनाबिच मतभेद समेत सुरु भएको छ । मन्त्री पदम गिरीले आफु अनुकुल निर्णय गर्ने र कर्मचारी पनि आफु अनुकुल चलाउन थालेपछि केहि नयाँ गर्छु भन्ने उर्जाका साथ राज्यमन्त्री बनेकी डा. तोसिमा कार्कीको योजनामा धक्का लाग्ने देखिएको छ ।

अहिले नेकपा एमाले निकट कर्मचारी दिनहुँ जसो मन्त्रालयमा मन्त्री लाई कुरा लगाउँदै गरेको भेटिन्छन ।मन्त्री गिरी पनि प्राबिधिक रुपमै कसरी डा तोसिमालाई पेन्डुलम बनाएर राख्ने भन्ने बिषयमा स्वास्थ्य क्षेत्र निकटका मान्छेहरुलाई बोलाउंदै सल्लाह लिने गरेको मन्त्रालयमै कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा जानकारी दिएका छन् ।

त्यसो त अहिले स्वास्थ्य मन्त्रालय मन्त्री गिरी ले भन्दा पनि हाल गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका खगराज अधिकारीका निकट मानिने युवा संघ उपाध्यक्ष रामजी सापकोटाले चलाउने गरेका छन् ।

मन्त्री गिरीको सचिवालय नै नबनिसकेको अवस्थालाई खेल्दै सापकोटाले मन्त्रालयका कर्मचारीलाई म स्वकीय सचिव बन्ने कन्फर्म भईसकेको र नियुक्ति भनेपछि सबैलाई देखाईदिने भन्दै धम्किदिन थालेको सिहंदरबार स्रोतले जनायो । तर मन्त्री गिरीले भने आफ्ना भाई लक्ष्मण गिरीलाई स्वकीय सचिब बनाउन चाहेको बुझिएको छ ।