काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो ।
प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे । इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे ।
नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो । प्रतिनिधिसभामा पहिले इन्दिरा रानामगरलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा उनी सभामुखमा निर्वाचित भएकाले कांग्रेसको प्रस्तावमाथि छलफल नै भएन ।
को हुन् इन्दिरा ?
२०२७ साल असार १८ गते झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ मा उनको जन्म भएको हो । प्रतापसिंह मगरकी छोरी सानैदेखि जुझारु, संघर्षशिल थिइन् । आफ्नो त्यही हक्की स्वभाव उनले जीवनभर कायम राखिन् ।
इन्दिराले बिगतमा नेतृत्व गरेको बन्दी सहायता नेपाल ९पिए नेपाल०ले हाल १५ वटा सेल्टर सञ्चालन गरिरहेको छ । अहिलेसम्म उनले २ हजारभन्दा बढी बालबालिकालाई शिक्षादीक्षा, पालनपोषण गरेकी छिन् । तर, आफ्नै कोखबाट जन्मिएकी एक छोरी सुभानी छिन् । सबैले उनलाई मायाले ‘आमा’ भनेर बोलाउँछन् ।
हालसम्म इन्दिरा अशोका फेलो, एसिया अवार्ड, वल्र्डस् चिल्ड्रेन प्राइज, एसियन २१ योङ लिडर जस्ता अन्तर्राष्ट्रिय पुरस्कार तथा अवार्डबाट सम्मानित भइसकेकी छिन् । फिलिपे नामक ब्राजिलका लेखकले उनका बारेमा पुस्तक लेखेका छन् । विभिन्न देशहरुमा उनका बारेमा कोर्षमा पढाई भईरहेको छ ।