काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटनामा परेको हो ।
वीरेन्द्रनगर पुग्नुभन्दा करिब ६ किलोमिटर वर झुप्रानजिक गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
दुर्घटनामा परेर दैलेखको डुंगेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय नविन शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी र ठेगाना नखुलेका करिब २७ वर्षीय सागर शाहीको मृत्यु भएको छ ।
दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका–५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते भएका छन् । उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।
गाडी सडकबाट करिब ७० मिटर तल खसेको थियो । गए राति साढे २ बजे दुर्घटनाको खबर प्रहरीलाई आएको कार्कीले बताए । ‘घाइतेका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटना भएको भन्ने छ, खास कारण भने खुलिसकेको छैन,’ उनले भने ।