काठमाडौं महानगरको लापरबाही : सुकुम्बासीसँगको झडपमा घाइते भएका नगर प्रहरीले अझै पाएनन् तलब र सेवा सुविधा  !

उपचारका लागि छैन कसैको चासो

दया दुतराज  

काठमाडौँ । गत मङ्सिर १२ गते काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजु नाथ पाण्डेको नेतृत्वमा थापाथलीस्थित सुकुम्वासी बस्तीमा पुग्यो । बस्ती हटाउने योजनासहित सुकुम्वासी बस्तीमा पुगेका नगर प्रहरीसँग स्थानीय रिसिए र दुई पक्षबिच झडप भयो । बागमती किनारमा रहेका सुकुम्वासी बस्तीका स्थानीय र महानगरका प्रहरीबिच झडप हुँदा १८ जना घाइते भए ।

सो झडपमा नगर प्रहरी प्रमुख पाण्डेसहित १८ जना घाइते भएका थिए । सोही घाइतेमध्येकै एक हुन् झरना विष्ट । लमजुङ घर भएकी झरना सो झडपको क्रममा गम्भीर घाइते भएकी थिइन् । सुकुम्वासी बस्तीका बासिन्दाहरूले उनको टाउकोमा खुकुरीले प्रहार गरेको थियो । नगर प्रहरीको रूपमा सुकुम्वासी बस्ती हटाउन पुगेकी झरनालाई महानगरले तलब र सेवा सुविधाबाट वञ्चित गरेको पाइएको छ । मङ्सिर २ गतेबाट महानगरको कर्मचारीका रूपमा काम सुरु गरेकी झरनालाई महानगरपालिकाले तलब र सेवा सुविधाबाट वञ्चित गरेको हो ।

‘२ मंसिरबाट मैले महानगर प्रहरीको रूपमा काम सुरु गरेँ, सो दिन देखि म निरन्तर काममा छु । १२ गते पनि महानगर प्रहरीले नै बोलाएर गएको हुँ,’झरनाले दियोपोस्टसँग भनिन्,‘त्यो दिन टाउकोमा खुकुरी खाएँ तर महानगरको कर्मचारी भनेर काम अह्रायो अहिले न हातमा तलब छ न त सेवा सुविधा नै, उल्टै चोट बोकेर बस्नु परेको छ ।’ झरनाले महानगरपालिकाबाट सेवा सुविधा र तलब मात्रै होइन उपचार खर्च समेत पाएका छैनन् ।

घाइते झरनाको उपचारको लागि नर्भिक र ग्रिनसिटि अस्पतालमा गरी लाखौँ खर्च भएको झरनाका पिता खेमराज विष्ट बत्ताउँछन् । झरनालाई घाइते भए लगत्तै थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । नर्भिक अस्पतालमा राम्रो उपचार हुन नसकेपछि उनलाई सामाखुसीस्थित ग्रिनसिटि अस्पतालमा रिफर गरिएको झरनाका पिता खेमराजले दियोपोस्टलाई बताए । ‘छोरी घाइते भए लगत्तै नर्भिक अस्पताल लगिएको थियो, त्यहाँबाट ग्रिनसिटि लगियो,’ खेमराजे भने,‘टाउकोको उपचार भएको कारण थोरै रकमले किन मान्थ्यो र रु आफैले रकम जुटाएँ, ५३ हजार ८०० रुपैयाँ चाहिँ युनिट सेक्यिुरिटिले हालिदिएको थियो । महानगरपालिकाले कति पनि खर्च व्यहोरेको छैन ।’ घाइते झरना विष्ट युनिट सेक्युरिटी कम्पनीबाट नै महानगर प्रहरीमा भर्ती भएका कारण युनिट सेक्युरिटीले उनलाई सहयोग गरेको खेमराजले बताए ।

गत कार्तिक गने २७ गते महानगर र युनिट सेक्युरिटीबिच सम्झौता भएको थियो । सो सम्झौता अनुसार १६२ जना कर्मचारीलाई महानगरले नगर प्रहरीका रूपमा भर्ती गर्ने उल्लेख गरिएको युनिट सेक्युरिटीका सञ्चालक जङ्ग बहादुर मगरले दियोपोस्टलाई बताए । सोही सम्झौता अनुसार झरना समेत महानगरपालिकाको नगर प्रहरीका रूपमा भर्ती भएकी हुन् ।

झरना विष्टको विषयमा महानगरपालिका अनविज्ञ रहेको महानगरपालिकाका सह प्रवक्ता दीपक अधिकारीले बताए । ‘नगर प्रहरीसँग सम्बन्धित कुरा मलाई थाहा भएन, मैले नगर प्रहरीबाटै जानकारी लिनुपर्ने हुन्छ,’ सह प्रवक्ता अधिकारीले भने,‘भरना विष्टको विषयमा मलाई थाहा भएन, राजु पाण्डेलाई सोध्नुस् ।’ तर राजु पाण्डेले भने घाइते भएकी झरनालाई युनिट सेक्युरिटीले नै तलब र सेवा सुविधा दिने बताए । झरना काम गर्न अयोग्य रहेको र उनको जिम्मेवारी महानगरपालिकाले नभई युनिट सेक्युरिटीले नै लिने महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले दियोपोस्टसँग बताए ।

‘झरनाको सेवा सुविधा र तलब युनिट सेक्युरिटीको जिम्मा हो, यो विषयमा महानगरपालिकाले कहीँ गर्दैन,’ एसपी पाण्डेले भने ‘त्यहीमाथि उहाँ अयोग्य हुनुहुँदो रहेछ । उहाँको जिम्मेवारी युनिट सेक्युरिटीले नै दिन्छ ।’ भर्ती गर्नुभन्दा पहिले योग्य कि अयोग्य भनेर महानगरले मापन गर्न सक्दैन रु भन्ने दियोपोस्टको प्रश्नमा उनले भने,‘युनिट सेक्युरिटीले नै कर्मचारी छान्ने जिम्मा लिएको यस विषयमा महानगरले केही गर्दैन ।’ युनिट सेक्युरिटीले केही उपचार खर्च पाएको भएता पनि तलब र सुविधा नपाएको झरना विष्टले बताए । तर युनिट सेक्युरिटीका सञ्चालक जङबहादुरले तलब दिएका बताए ।

सम्बन्धित खबर