काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना–प्रविधिको विकासले अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको भन्दै बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न आवश्यक रणनीति बनाउन निर्देशन दिएका छन् ।
सोमबार २२ औं सशस्त्र प्रहरी दिवसलाई सम्बोधन गर्दै उनले बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्नका लागि आवश्यक रणनीति बनाई सोहीअनुसार परिचालित हुन सशस्त्र प्रहरीलाई निर्देशन दिएका हुन् ।
‘वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्नका लागि आवश्यक रणनीति बनाई सोहीअनुसार परिचालित हुन समेत आग्रह गर्दछु’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले सरकारको सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।
उनले मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैंगिक विभेदमा शून्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी बललाई हातहतियार, गोलीगठ्ठा, आवास एवं बन्दोबस्तीका सामान, विपद व्यवस्थापनका सामान, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरण उपलब्ध गराउन पहल गर्ने पनि बताए ।
‘हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुनेसमेत विश्वास दिलाउँछु’ उनले भने ।