काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। सोमबार राति खाना खाएर सुतेका उनी घरभन्दा करिब ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। परिवारका अनुसार दुईवटा सहकारी संस्थाबाट गरी एक लाख रुपैयाँ ऋण लिएका उनी किस्ता तिर्न नसक्दा तनावमा थिए।
‘छोराको विवाह गर्दाको वेला गत वैशाख १ गते दुईवटा सहकारी संस्थाबाट ऋण लिएका थियौँ,’ मृतक रामदेवकी श्रीमती उर्मिलादेवीले भनिन्, ‘हरेक महिनाको ९ गते किस्ता तिर्दै आइरहेका थियौँ।’
गत सोमबार समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएका थिए। सबैतिर हारगुहार गर्दा पनि पैसाको जोहो नभएपछि कर्मचारीहरू घरमा आउँदा उनले घरमा छैन भनेका थिए । मंगलबार जसरी पनि ऋण बुझाऊ भनेर कर्मचारीले हप्काएर गएपछि उनी तनावमा भएको उनकी श्रीमतीले बताईन्र ।
सोही तनावले नै रामदेवले आत्महत्याको बाटो रोजेको उर्मिलादेवीको दाबी छ। मृतक रामदेवका श्रीमती र दुई छोरा छन्।