गृहमन्त्रालय नछाड्ने रास्वपाको अडान

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रालय अरुलाई नछाड्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृहमन्त्रालय आफैंले पाउनुपर्ने रास्वपाले अडान लिएको हो ।

पार्टीका नवनियुक्त कार्यवाहक सभापति डीपी अर्यालले रास्वपाको भागमा परेको गृहमन्त्रालयमा पार्टीले अर्को व्यक्ति तोक्न सक्ने बताएका हुन् । उनले सात्ता साझेदार दलबीच भएको सहमतिअनुसार आफ्नो पार्टीले गृह पाएको भन्दै पार्टीले गृहमा अन्य व्यक्ति पठाउने बताए ।

निवर्तमान पार्टी सभापति लामिछानेले आजै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिँदैछन् । यदि उनले तत्काल नागरिकता पाएको खण्डमा फेरि गृहमन्त्री नियुक्त हुनसक्ने बाटो पनि छ । नेपालको संविधानअनुसार गैरसांसद नागरिक ६ महिनाका लागि मन्त्री नियुक्त हुन सक्छ । ६ महिनाभित्र चितवनमा उपनिर्वाचन भएर रवि फेरि संसदमा फर्किन र मन्त्रालयमा निरन्तरता दिन सक्छन् ।

कार्यबवाहक सभापति अर्यालले पनि गृहमै फर्कन सक्ने सम्भावना रहेको बताएका छन् । आजै लामिछानेले नागरिकता पाएको खण्डमा उनी तत्काल पार्टीको कमाण्डमा फर्किने उनको भनाइ छ ।