काठमाडौं । नेपाल प्रहरीमा सरुवासम्बन्धी नयाँ कार्यविधि लागु हुने भएको छ। नयाँ कार्यविधिअनुसार इन्चार्ज जाने प्रहरी अधिकृतले एउटा दर्जामा २ पटक भन्दा धेरै नपाउने व्यवस्था गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार पछिल्लो समयमा प्रहरी अधिकृतहरूले राजनीतिक पहुँच पुर्याएर लगातार ‘कमाउ ठाउँ’मा सरुवा माग्ने प्रवृत्ति बढेपछि त्यसलाई निरुत्साहित गर्न कार्यविधि बनाउन लागिएको हो ।
प्रहरीमा यसभन्दा अगाडि पनि सरुवासम्बन्धी कार्यविधिहरू बने पनि प्रहरी अधिकृतहरूले पहुँचका भरमा आफूले चाहेको ठाउँमा सरुवाका लागि दबाब दिन थालेपछि कार्यविधि आउन लागेको हो। नयाँ कार्यविधिमा तराईका जिल्लामा जिल्लापति भएका इलाकापति भएका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी)ले पहाडी जिल्लामा मात्रै इन्चार्ज पाउने व्यवस्था गर्न लागिएको छ ।
कार्यविधिमा इन्चार्ज पाउने अधिकृतहरूले एउटा दर्जामा २ पटकभन्दा धेरै इन्चार्ज नपाउने भएका हुन् । यसअनुसार डीएसपीमा २ पटक इन्चार्ज पाएकाले एसपी नभई तेस्रो इन्चार्ज नपाउने भएका छन् भने एसपीमा २ पटक इन्चार्ज पाएकाले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नभएसम्म नपाउने व्यवस्था कार्यविधिमा गर्न लागिएको छ ।