काठमाडौं । अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन् । दुई दिने भ्रमणका लागि उनी आइतबार साँझ काठमाडौं आएकी हुन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार न्युल्यान्डले सोमबार बिहानदेखि राजनीतिक भेटवार्ता गर्नेछिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला राई पौड्याल लगायतसँग भेटवार्ता गर्नेछिन् ।
३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उपविदेश मन्त्री नुल्यान्डले राष्ट्रपति बाइडेन, ओबामा र बुस नेतृत्वका सरकारहरूअन्तर्गत थुप्रै उच्च पदहरू सम्हालेकी छन् ।
‘नेपाल भ्रमणको क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिनुहुनेछ । साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नुहुनेछ । यस्ता सांस्कृतिक सम्पदालाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लाग्दै आएको छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ ।