आरोप प्रत्यारोमा उत्रिए गृहमन्त्री श्रेष्ठ र रवि लामिछाने, कसले के भने?

दियो पोस्ट  

काठमाडौं। सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ एक अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिए ।

बैठकमा समितिका सदस्यहरूले सोध्ने प्रश्नको उत्तर दिन बोलाइएका उपप्रधान तथा गृहमन्त्री  श्रेष्ठमाथि लामिछानेले विभिन्न आरोप लगाए।

सुरूमै उनले गृहमन्त्रीले नैतिकता गुमाइसकेको भने। ‘नैतिकताका कुरा धेरै आए, भुसको थुप्रोमा हराएको सियो भेटिएला। हराएको टाइटानिक भेटिएला तपाईंहरूमा नैतिकता खोज्ने दुस्साहस म गर्दिनं त्यो भेटिँदैनं। म त्यसमा समय नष्ट गर्न चाहन्न,’ उनले भने।

त्यसपछि लामिछानेले गृहमन्त्रीमाथि विभिन्न आरोप लगाए ।

उनले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान नसकिँदै अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी प्रमुखसहित त्यसको अनुसन्धानमा खटिएकाहरूलाई रातारात सरूवा गर्नुपछाडि आफूनिकटकालाई जोगाउनु मुख्य कारण रहेको बताए।

‘उदाहरणका लागि कुनैपनि दर्जाका अधिकृतलाई कमाण्डमा सामान्यतया कुनैपनि गलत कार्य नगरेको अवस्थामा एक वर्ष सरूवा नगर्ने प्रहरी नियमावलीमा व्यवस्था छ,’ उनले भने।

लामिछानेले अगाडि भने, ‘तर तपाइँको नेतृत्वमा नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा संलग्न भई मुद्दालाई अन्तिम टुंगोमा पुर्‍याउन नपाउँदै एआइजी श्याम ज्ञवालीलाई चार महिनामा, एसएसपी दान बहादुर कार्की र मनोज केसीलाई ७ महिनामा सरूवा गर्नुभयो।’

भुटानी शरणार्थीको अनुसन्धान हुँदा पनि कति गृहमन्त्रीले भूमिका खेलेर कति जनासँग बयान नै नलिएको लामिछानेले आरोप लगाए।

‘लामिछानेले पहिलेको नारायणकाजी र अहिलेको नारायणकाजीमा धेरै भिन्नता आइसकेको बताए।  गृहमन्त्री त्यो नारायणकाजी श्रेष्ठ रहेन जो एउटा इमानको राजनीति गर्थ्यो जसको राजनीतिलाई आउने पुस्तालाई आउने पुस्ताले उदाहरणका रूपमा लिन्थे। त्यो नारायणकाजी  अब पदको लोभमा भएको नारायणकाजी श्रेष्ठमा रुपान्तरित भएको छ,’ लामिछानेले भने।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले तेस्रो कुरा उठाए, ब्रेक शु बाट भित्रिएको सुनबारे। त्यसमा पनि गृहमन्त्रीले प्रहरीलाई राम्ररी काम गर्न नदिएको उनले बताए। त्यसमा गृहमन्त्री श्रेष्ठले बलबुँतो लगाएर सुन प्रकरणको अनुसन्धानलाई राजस्व अनुसन्धान कार्यालयबाट आफूले नेतृत्व गरेको संगठन (प्रहरीको)मा ल्याएको उनले बताए। ‍

‘ १४ साउनसम्म राजस्व अनुसन्धान कार्यालयले महत्त्वपूर्ण अनुसन्धान गरेको थियो तर तपाइले त्यसलाई अनेक बलबुँतो लगाएर प्रहरीमा ल्याउने बल गर्नुभयो उसले गरिरहेको अनुसन्धानलाई ढिसमिस गर्नका लागि निरन्तर प्रयत्न गर्नुभयो,’ लामिछानेले भने।

उनले सुन प्रकरणबारे आफूले गृहमन्त्रीलाई प्रमाण नै दिएको पनि बताए। तर जे सोचेर दिएको हो गृहमन्त्रीबाट त्यो नभएको लामिछानेले गुनासो गरे। ‘जे सोचेर भनेको थिए त्यो हुन सकेन। त्यसको ठीक विपरीत त्यसको संरक्षण गर्नुभयो,’ उनले भने।

गृहमन्त्रीले फाइल खोलेँ भनेपनि फाइल खोलेर त्यसको पन्ना पल्टाउँदा आफ्ना मान्छेहरूको अनुहार देखेपछि उनीहरूको संरक्षणका लागि प्रहरी संगठनलाई प्रभावित पार्न खोजेको बताए।

 र अन्त्यमा लामिछानेले भने, ‘मैले तपाईलाई यति भन्नुपर्ने अवस्था सिर्जना हुनु मेरा लागि दुःखको विषय हो। आदर्श नेताका रूपमा नहेरेको होइन। तपाईको स्पिरिटप्रति प्रहरी संगठन सहमत छैन।’

आफ्नो प्रश्न र गृहमन्त्रीमाथि आरोप लगाएर लामिछाने बैठकबाट बाहिरिएका थिए। प्रश्न सोधेर आरोप लगाएर त्यसको उत्तर नसुनी निस्किएर उनलै गैरराजनीतिक व्यवहार देखाएका थिए।

उनको अनुपस्थितमा भएपनि गृहमन्त्री श्रेष्ठले केही प्रश्नको उत्तर दिएपनि गम्भीर आरोपहरूबारे बोलेनन्।

उनले सुरूमै सुनबाट सुरू गरे। त्यतिबेला सुन प्रकरणको अनुसन्धानमा आफूले गरेको कामबाट प्रभावित भएर लामिछानेले धन्यवाद र बधाइ दिएको उनले बताए।

त्यतिमात्रै होइन सुन प्रकरण राजस्व अनुसन्धानमा नभई सिआइबीमा ल्याउनुपर्छ भनेर सबैभन्दा पहिले रवि लामिछानेले नै भनेको उनले बताए।

‘त्यो माग गर्नेमध्ये उहाँ हो एउटा। यो त कहाँ संगठित अपराध हो नि । राजस्व अनुसन्धानमा राखेर हुन्छ? भनेर माग गर्ने मान्छेमध्येको उहाँ हो एउटा,’ गृहमन्त्री श्रेष्ठले भने।

त्यसरी सबैले माग गरेपछि  प्रधानमन्त्रीको तहमा बसेर,  प्रहरी, राजस्व अनुसन्धान, कानुन सबै बसेर यो ट्रान्सनेशनल क्राइमको रूपमा अगाडि बढिसकेको निष्कर्ष निकालेर। राजस्व अनुसन्धानले हेर्न सक्दैन भनेर सिआइबीलाई दिने सामूहिक निर्णय भएको उनले बताए।

‘ त्यो निर्णय गरेपछि एकदम ठीक गर्‍यो भनेर मलाई धन्यवाद र बधाई दिनेमध्येमा उहाँ (रवि लामिछाने) पर्नुहुन्छ,’ मन्त्री श्रेष्ठले भने।

प्रहरी संगठनमा हस्तक्षेप गरेको लामिछानेको आरोपमा मन्त्री श्रेष्ठले नेपाल प्रहरी इतिहासमै स्वतन्त्र भएर काम गरेको दाबी गरे।

‘आइजी, एआइजी, डिआइसीदेखि एसएसपी सबैलाई सोध्नुस्, सिस्टमअनुसार काम गर्नुस् भन्ने वातावरण दिएका छौं। हस्तक्षेप होइन,’ उनले भने।

सुन प्रकरणमा लामिछानेले दिएको महत्त्वपूर्ण सूचनामा कारबाही प्रक्रिया अगाडि बढेको मन्त्री श्रेष्ठको भनाइ छ।

‘उहाँले दुई जना व्यक्तिको कुराकानी गर्नुभएको छ। एकजना व्यक्ति उहाँले पत्रकार सम्मेलनमा भन्नुभाछ। त्यो व्यक्ति अहिले त्यो मुद्दामा प्रतिवादी दायर गरेको छ। सिआइबीले र फरार छ। प्रहरीले खोजिराछ। अर्को व्यक्तिको हकमा सुनकाण्डमा चाहीँ संलग्नता नदेखिएपछि प्रतिवादी बनाउन सकिएन। तर, यसको छानबिनको दायरा अरू क्षेत्रहरूमा गर्नुपर्ने हुन्छ होला भनेर सिआइबी अझै अध्ययन गरिराछ,’ उनको जवाफ छ।

 लामिछानेले यी सबै प्रश्नको पछाडिको कारणबारे शंका रहेको बताउँदै गृहमन्त्री श्रेष्ठपनि प्रत्यारोपमा उत्रिए। उनले गृहमन्त्री छोड्नुपर्दा लामिछानेले पत्रकार सम्मेलन गरेर भनेका विषयहरूलाई जोडे।

यस्तो समयमा लामिछानेले विभिन्न आरोप लगाउनुमा आफै कुनै कुरामा पर्छु की भनेर त्यो भन्दा अगाडी नै केही भन्दिहालौं भन्ने डर हो कि भन्ने लागेको पनि बताए।

‘अथवा आफूले गरेको पहिलेको गल्ती कुनै कारणले कानुन रूपमा छुट पाएँ भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना गर्नु भएन । त्यस्तो हुँदैन,’ उनले भने।

दोषी भेटिए सबैलाई कानुनको दायरामा ल्याइने र तर प्रतिशोध साध्ने काम नहुने उनले बताए।

तर केही गर्ला कि भनेर पहिल्यै खुट्टा उचालिदिएपछि म भाग्न पाइहाल्छु भन्ने मानसिकता नराख्न पनि गृहमन्त्रीले आग्रह गरे।

‘हुँदेन खुट्टा उचालेपनि समाइन्छ। कानुनको कार्यान्वयन दृढतापूर्वक अगाडि बढाइन्छ तर कुनै कुराको उठाएकै कारणले सरकारले कुनैपनि प्रकारको व्यवहार आकर्षित गर्दैन। स्वतन्त्रताको सम्मान गर्छ,’ गृहमन्त्री श्रेष्ठले भने।