के छ नेपाल–भारतबीच भएका चार सम्झौतामा ?

दियो पोस्ट  

काठमाडौं । नेपाल र भारतबीच सहयोग आदानप्रदानसम्बन्धी चार वटा सम्झौतामा हस्ताक्षर भएका छन्।

काठमाडौंमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकको क्रममा यी सम्झौता भएका हुन्। नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा आयोगको बैठक बसेको थियो।

बैठकअघि नै दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो भने बाँकी तीन सम्झौता आयोगको बैठक सकिएलगत्तै भएको हो।

बिहान सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई देशका सचिवबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो।

ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भारतका ऊर्जा सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा सचिव गोपाल सिग्देलले सम्झौतामा हस्ताक्षर गरेका थिए।

सम्झौतामा १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालले भारतमा निर्यात गर्ने उल्लेख थियो।

बैठकमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र अर्थसचिव कृष्णहरि पुष्करले भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पुर्‍याउने सम्झौता गरेका थिए।

यस्तै, नेपालले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपणका लागि भारतले सहयोग गर्ने सम्झौता पनि बिहीबार नै भएको छ।

नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट) र डिपार्टमेन्ट अफ स्पेस अन्तर्गत न्यु स्पेस इन्डिया लिमिटेडबीच सम्झौता भएको छ ।त्यस्तै नवीकरणीय ऊर्जा विकास क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी पनि सम्झौता भएको छ।
आयोगको बैठक सकेपछि भारतीय विदेशमन्त्री जयशंकरले पनि सामाजिक सञ्‍जाल ट्विटमार्फत् यसबारे उल्लेख गरेका छन्।

गएको कात्तिक १९ मा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिका राहतका लागि पनि पाँचौं चरणको सामग्री पनि हस्तान्तरण भएको छ।

यस्तै, साउद र जयशंकरले तीन वटा अन्तरदेशीय प्रसारण लाइनको पनि संयुक्त उद्घाटन गरेका छन्।

TATA ADD