मानव तस्करी अभियोगमा पक्राउ परेका कांग्रेस नेता कार्कीलाई छुटाउन सुजाता कोइरालाको दबाव !

दियो पोस्ट  

काठमाडौं। नक्कली कागजपत्र बनाएर भिजिट भिसामा मानव तस्कारी गरेकाे आरोपमा पक्राउ परेका एक जनालाई छुटाउन कांग्रेस नेतृ सुजाता कोइरालाले प्रहरीलाई दबाब दिएको पाइएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका-७ घर भई ललितपुरकको महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुस ७ गते पक्राउ गरेको थियो।

उनै कार्कीलाई छोड्न भन्दै कोइरालाले प्रहरीका उच्च अधिकारीलार्इ तारान्तार फोन गर्ने गरेको उच्च स्रोतले दियोपोष्टलाई जानकारी दिएको छ।

राजनीतिको आडमा  अनुसन्धान प्रक्रियालाई बिथोल्न बारम्बार प्रहरीलाई दबाब दिन थालेपछि अनुसन्धानमा खटिएका प्रहरी उनीबाट आजित हुन थालेका छन्।

ठगी प्रकरणमा पक्राउ परेका कार्की यसअघिको निर्वाचनमा नेपाली कांग्रेस मोरङबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए। त्यतिमात्रै होइन सुजाता कोइरालाकै क्षेत्रबाट उनले उम्मेदवारी दिएका थिए।

सुजाता प्रतिनिधि सभा तर्फ मोरङ क्षेत्र नम्बर २ का उम्मेदवार रहँदा कार्की सोही क्षेत्रको प्रदेश ‘ख’ तर्फका उम्मेदवार थिए। यद्यपि दुबै जनाले चुनाव हारेका थिए।

चुनाव हारेपछि कार्कीले सिटी टुर्स एण्ड ट्राभल्स संचालन गर्दै आएका थिए। उनले ठगी र मानव तस्करी गर्न विभिन्न कम्पनी खाेलेकाे अाराेप छ ।

भिजिट भिसामा जानेहरूले नक्कली कागजात बनाएको फेला परेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले असोजदेखि अपरेसन चलाएको थियो।

अपरेसनकै क्रममा प्रहरीले नक्कली कागज बनाएर भिजिट भिसामा विदेश पठाउन कन्सल्टेन्सी तथा ट्राभल कम्पनी र अध्यागमन विभागदेखि विमानस्थलसम्म एउटा गिरोह नै सक्रिय रहेको तथ्य फेला पारेको थियो।

ट्राभल कम्पनीले भिजिट भिसामा जाने मान्छे खोजेर उनीहरूको नक्कली कागजात तयार पार्ने र त्यसको जानकारी अध्यागमनका कर्मचारीलाई गराउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

अध्यागमनले नेपाल एयरलाइन्स र विमानस्थल प्रहरील प्रहरीसँग सेटिङ गरी नक्कली कागजपत्र बनाएर भिजिट भिसामा मानिसहरूलाई विदेश पठाउने गरेको भेटिएपछि मंसिर २७ सम्म गिरोहमा संलग्न ३२ जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरूमध्ये ६ जना ट्राभल कम्पनी सञ्चालक, अध्यागमन र  वायुसेवा निगमका कर्मचारी र विमानस्थलका प्रहरी कर्मचारी थिए।

यसरी सेटिङ मिलाएर काम गर्दा ट्राभल कम्पनीहरूले एक जनाबाट कम्तिमा १० देखि १५ हजार रूपैयाँ लिने गर्थे।

यसरी विदेश पठाउँदा अध्यागमनका कर्मचारीले ५५ हजारसम्म, वायु सेवा निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीले प्रतिव्यक्ति १० हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

कार्कीको  पनि यही गिरोहमा संलग्नताको प्रमाण भेटेपछि प्रहरीले पुस ७ गतेमात्रै उनलाई पक्राउ गरेको थियो।

अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई थप अनुसन्धान गरी मुद्दाको प्रक्रिया अघि बढाउन जिम्मा लगाएको छ।

तर गृहमन्त्रीसमेत कांग्रेसकै रहेको भन्दै कोइरालाले परिसर र अपराध अनुसन्धान कार्यालयका अधिकारीहरूलाई तारान्तार फोन गरेर कार्कीलाई छोड्न दबाब दिन थालेपछि उनीमाथि निष्पक्ष अनुसन्धान भएर कारबाही हुनेमा शंका उब्जिएको छ।