नुवाकोट । नुवाकाेटको बेलकोटगढी नगरपालिकाका उपप्रमुखले काम सम्पन्न भएबापत ठेकेदारसँग कमिसन मागेको अडियो दियो पोस्टलाई प्राप्त भएको छ । प्राप्त फोन कुराकानीको अडिओमा नगरपालिकाका उप-प्रमुख शिवप्रसाद दाहाल र एक निर्माण व्यवसायीसँग सम्पन्न भएका योजनाको भुक्तानीमा कमिसन मागेको प्रस्ट बुझिन्छ ।
अडिओमा उपप्रमुख दाहालले सबैजसो योजनाको भुक्तानीको कमिसनका लागि ताकेता गरेका छन् । दाहालले जुन व्यवसायीसाँग डिल गरेका छन् उनलाई त अहिले कमिसन नदिए भोलिका दिनमा भुक्तानीका लागि हस्ताक्षर नै नगर्ने चेतावनी समेत दिएको अडियोमा सुन्न सकिन्छ । ती निर्माण व्यवसायीसँग उपप्रमुख दाहालले आश गरेर आफ्नोपछि लाग्नेहरु र पार्टीका लागि समेत आफूले योगदान गर्नुपर्ने भन्दै कमिसन मागेका छन् ।
सार्वजनिक अडियोको विषय खण्डन गर्दै उपप्रमुख दाहालले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गरेका थिए । तर विज्ञप्तिमा समेत ठेकेदारसँग कमिसनको मोलमोलाइ भएको पुष्टि दाहाल आफैँले गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘मैले ठेकदार लाई टेलिफाेन सम्बादमा भिडियो हेर मेराे पछाडि पार्टी ,नेता ,जनता, भाईसाथि मलाई मतदिने मतदाता स्थानिय सरकारकाे कामकारबाही काे खबरदारी गररहने सचेत नागरिक र उनिहरुकाे प्रतिनिधि रहेकाे कुरा उल्लेख गरेकाे थिय,कहिकतै त्यस सम्बादमा शब्द चयन गलत भयमा म प्रति भराेषा र बिस्वास गर्नु हुने सबै मा क्षमा यचना गर्दै उक्त ठेकदारले कम गुणस्तर काम गरि काम सम्पन्न गर्न फरफारक गर्न अनेक तिकडम र दाउगरि आफनु ब्यक्ति गत काम पनि गर्न बाध्यकारी बनाउने याेजना अनुरुप बिगत जेठ महिना देखि महिले बाेलेका सम्बादलाई ईडिटगरी बेलकाेटगढी काे उपप्रमुख ले पैसा माग्याे भनी मेराे चरित्र हत्या गर्ने समुदायमा भ्रम सिर्जना गर्ने काम भयकाेछ जुन हदैसम्म जति भत्सर्ना गरे पनि कम हुन्छ।’
यसअघि पनि उक्त नगरपालिकाका जनप्रतिनिधिका लागि घुस उठाएको आरोपमा दुई जना इन्जिनियर घुससहित पक्राउ परेका थिए ।
पछिल्लो समय बेलकोटगढी नगरपालिकामा काम नहुने तर योजनाका नाममा भुक्तानी भने हुँदै आएको भन्दै आलोचना हुने गरेको छ ।
के छ उपप्रमुख शिवप्रसाद दाहाल र व्यवसायीबीचको संवादमा ?
… उपप्रमुखः दाईलाई भेट्नु पर्देन मेरो भाई ।
ठेकेदारः कहाँ दाई ? मेरो दाई ।
उपप्रमुखः म त मदानपुरबाट फर्किराछु प्रभु । मेरो पछि पनि आसेपासे होलान । पार्टी होला । जम्मै चिज होला । तिमीहरुले पनि कुरा नबुझे कसले बुझ्ला ? मेरो भाई ।
ठेकेदारः दाईहरुले भाइहरुको कुरा नबुझे कसले बुझ्ला । कार्यकर्ताले नेताको । म कार्यकर्ता तपाईं नेता । अब (हाँस्दै) भरे भोलितिर यसो चिया खाउँला दाईकोमा बसेर ।
उपप्रमुखः के गर्नुपर्ने हो गर्नु । अर्काे पटक सही गर्नुपर्ने बेलामा दाई हिँ भन्न आउने होइन ।
ठेकेदारः ल सल्लाह गरौँला ।…