सजिलमानमाथि स्विमिङ्ग पुलमा करेन्ट लागेको पुष्टि : होटल संचालकलाई किन हुँदैन कारबाही ?

खुमा वली  

काठमाडौं । आइतबार ललितपुरको पुल्चोकस्थित होटल स्क्वायर अगाडी जस्टिस फर सजिलमान लेखिएको प्लेकार्ड लिएर सयौं सहभागीहरु आन्दोलित बने । भिडमा उभिएकी मध्ये एक महिला भने घरिघरि रोइरहेकी थिइन् । उनी थिइन् गत भदौ १५ गते होटल स्क्वायरमा स्विमिङ्ग गर्न पुगेका मानवभवन निवासी सजिलमान शाक्यकी श्रीमती रजिना मानन्धर । ‘उहाँको आँखा एउटा खुला छ । त्यति हो । हरेक विहान म उठेर उहाँको सास छकी छैन,’ रजिनाले आँशुको धारा बहाँदै भनिन्,‘यस्तो अवस्थामा दिनै हेरेर बस्नु परेको छ भनेर यीनीहरुले कल्पना पनि गर्न सकेको छैन । उनीहरुलाई परेको भए थाहा हुन्थ्यो ।’

होटल स्क्वायरमा रहेको स्विमिङ पुलमा पौडी खेलिरहेको बेला करेन्ट लागेर गम्भिर घाइते भएका सजिलमान ५ महिनादेखि कोमामा छन् । होटलको लापरबाहीका कारण करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई श्रीमती रजिनासहित होटलका स्टाफले अस्पताल पुर्याएका थिए । उनी सजिलमानलाई अन्याय भएको भन्दै स्थानियबासीले शुक्रबार पुल्चोकस्थित होटल स्क्वायर अगाडी प्रदर्शन गरेका हुन् ।

करेन्ट लागेपछि बेहोस भएका उनलाई तत्कालै ललितपुरस्थित मेडिसिटि अस्पताल पुर्याइएको थियो । तर, ५ महिना निरन्तर उपचारगर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि परिवारले अहिले घरमै राखेर उपचार गर्दैछ । उपचारमा ९५ लाख रुपैयाँ सकिएपनि खासै उपचार भने नभएको पीडित परिवारको भनाई छ ।

घाइतेका बुवा पुष्करमान शाक्यका अनुसार होटलमा भएको त्रुटिका कारणले आफ्नो छोरा घाइते भएको र अन्यलाई यस्तो अवस्था भोग्नुनपरोस् भन्ने मात्रै आफ्नो चाहना रहेको बताए ।

“होटलको लापरबाहीले मेरो छोरा यो अवस्था पुग्यो । जे नहुनु थियो भइसक्यो । तर अब कानुनी प्रक्रियामा जानु पर्छ । होटेलले गैरजिम्मेवार व्यवहार देखाइरहेको छ । आज उदाहरण मेरो छोरा भयो भोलि अरु नै पर्न सक्छन् । त्यसैले होटल सञ्चालकले पनि व्यवस्थित तरिकाले सञ्चलान गर्न जरुरी छ ।” उनले भने,“मेरो छोरा यसरी घाइते भयो । अब अरुलाई यस्तो नहोस् । हामीले सीसीटीभी फुटेज पनि हेयौं । त्यसमा उसलाई करेन्ट लागेको देखिन्छ । यस्तै नाडीमा पनि करेन्ट लागे जस्तो दाग छ ।”
उनका अनुसार होटल सञ्चालकसँग कुराकानी गर्न नखोजेको भने होइन । यस विषयमा प्रहरीसमेत कुनै एक्सन नलिएको शाक्यको गुनासो छ

उनीहरुले आन्दोलनका क्रममा निवर्तमान एसएसपी सिद्धिविक्रम शाह समेतलाई कारबाही गर्न माग गरेका छन् । शाहले घटनापछि जाहेरी दिन खोजेका पीडित परिवारको जाहेरी लिन नमानेको उनीहरुको भनाई छ । लापरबाहीपूर्वक व्यक्तिकौ ज्यानै जोखिममा पार्ने होटल संचालक विरुद्ध पीडित परिवारले दिएको जाहेरी लिन शाहले अस्विकार गरेका थिए । पीडितलाई न्याय र पीडकलाई कारबाही कानुनी कारबाही गर्नुको सट्टा शाहले पीडक पक्षलाई विभिन्न माध्यमबाट भेटेर लाभ लिएको आरोप लाग्दै आएको छ ।

शाक्य परिवारले न्याय नपाएसम्म उक्त आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् । पीडित परिवारले जस्टिस फर सजिलमान भन्दै नाराबाजी गरेका थिए ।

होटलकै लापरबाहीका कारण करेन्ट लागेर सजिलमान गम्भिर घाइते भएको पाटन अस्पतालद्वारा गठित उच्चस्तरिय छानबीन समितिको निष्कर्श छ । तर, उक्त तथ्यलाई होटल प्रशासन मान्न तयार छैन ।
होटेल स्क्वायरका एचआर म्यानेजर गणेश न्यौपानेले करेन्ट लागेको हो कि होइन भन्ने नै अनुसन्धानको विषय भएको बताएका छन् ।

“यो इलेक्ट्रीसीटी सर्ट चै हो की होइन भन्ने नै अनुसान्धानको विषय हो । घटनाको सिसिटिभी क्यामेराको क्लिपहरु सबै ७ दिनभित्र हामीले प्रहरीलाई उपलब्ध गराएका छौं । त्यति खेरैबाट हामीले स्पोर्ट सिल गरेका छौं । हामीले विद्युत् प्राधिकरणबाट मान्छे आएर चेक गर्दा करेन्ट बाहिर लिकेज नभएको भन्नु भएको छ,’ उनले भने,‘मेडिसिटी अस्पतालको रिपोर्टमा इलेक्ट्रीसिटि सक भएको होइन भन्ने छ । तर उहाँहरु फेरि करेन्ट नै हो भनेर दाबी गर्नु हुन्छ । त्यसकारण यो अझै छानबीन प्रक्रियामै छ ।”

शाक्य परिवारले होटलमाथि आरोप लगाएको र स्वमिङ पुलमा करेन्ट नलागेको न्यौपानेको दाबी छ ।

यता ललितपुर प्रहरी परिसरका प्रवक्ता एवं एसपी नवराज कार्कीले भने जाहेरी नलिएको विषयमा सरकारी वकिलले हेर्ने मुद्दा भएका कारण ढिला भएको बताएका छन् ।

“यो विषय सरकारी वकिलले हेर्ने र दुवै पक्ष अर्थात् होटल सञ्चालक र घाइतेका परिवार मिलापत्र गर्ने भनेर दुबै पक्षको छलफल पनि गरायौं । उहाँहरु मिलापत्रको विषयमा नै जाने भनिएको थियो । अहिले आएको विषय उपचार खर्च र क्षतिपूर्तिको कुरा नै हो । जुन प्रहरीको अधिकारभित्र पर्देन यो सिधै अदालतमा गएर क्षतिपूर्ति दाबी गर्ने विषय हो । त्यो सँगै यी दुवै पक्षबीच कम्प्रमाइज हुने पक्षमा थियो । तर गत पुस २ गते जिल्ला सरकारी वकिल कार्यालयबाट यो मुद्दा दर्ता गर्ने भनेर आयो । योबीचमा उहाँहरु दुबै पक्षले छलफल गरेर मुद्दा सल्टाउने भनिएको थियो । तर पछि कम्प्रमाइजमा नआइसकेपछि आज बिहानै हामीले यो मुद्दा दर्ता गरिसकेका छौं ।”

कार्कीका अनुसार यो मुद्दामा अनुसन्धान भइरहेको र अनुसन्धानबाट जे आउछ त्यही अनुसार कारबाही हुने छ ।

तर, जिल्ला प्रशासन कार्यालयले नै गठन गरेको पाटन अस्पतालका डाक्टर सम्मिलित उच्चस्तरिय छानबीन समितिले भने करेन्टर लागेर नै उनको याे अवस्था भएको निष्शर्ष निकालेको प्रमाण दियोपोस्टसँग सुरक्षित छ ।