बहिनी बलात्कार गर्ने बाबुविरुद्ध जाहेरी दिँदा हत्या, बाबु पक्राउ

अनुसन्धान गर्दै प्रहरी

खुमा वली  

सुर्खेत । सुर्खेतमा बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउँदा दाजुको हत्या भएपछि प्रहरीले बाबुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

बहिनीमाथि बलात्कार भएपछि दाजुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गत असोजमै जाहेरी दिएका थिए।

प्रहरीमा घटनाबारे जाहेरी दिएका दाजुको गत सोमबार राति घरनजिकै रहेको बाख्रा खोर छेउ हत्या भएको अवस्थामा शव फेला परेको थियो। उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको छ। उनकी बहिनी घाइते अवस्थामा फेला परेकी थिइन्।

यस घटनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक टोली नै बनाएर अनुसन्धान गरिरहेको छ। प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदी, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट सई नारायण शर्मा र इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक विनोद सुवेदीले यो घटना अनुसन्धान गरिरहेका छन्।

अनुसन्धानको सिलसिलामा उक्त टोलीले बाबुलाई पक्राउ गरेको हो। बिहीबार बिहान साढे १० बजे कैलालीको टीकापुरबाट बाबुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो घटनामा बाबुले छोरीमाथि गत असोजमा बलात्कार गरेको र घटनाबारे बहिनीले दाजुलाई भनेपछि उनको हत्या भएको हुन सक्ने देखिएकोले बाबुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सिफारिस