काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबरजस्ती सहकारी ठग बनाइएको आरोप लगाएका छन्।
सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामिछानेले सहकारीमा बचतकर्ताको रकम हिनामिनामा आफ्नो भूमिका नभएको तर आफूलाई जबरजस्ती सहकारी ठग बनाउन खोजिएको बताएका हुन्।
‘जबरजस्त रूपमा मलाई सहकारी ठगी गर्ने मान्छे बनाउन खोजिएको छ, जहाँ मेरो कुनै संलग्नता छैन,’ उनले भने।
उनी पूर्व प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनका लागि पोखराको सूर्यदर्शन सहकारी लगायत विभिन्न सहाकारीबाट जनताले जम्मा गरेको पैसा गैरकानुनी लगानी गरेको विषयमा सञ्चारमाध्यमहरूले लगातार समाचार प्रसारण गर्दै आएको छ।
सहकारी ठग जिबि राइसँग मिलेर बचत कर्ताको रकम हिनामिना गरेको आरोप लागेका लामिछानेले त्यसबारेमा प्रष्ट पार्न सोमबार पत्रकार सम्मेलन गरेका हुन्।
पछिल्लो समय उनको खातामा जिबि राईले १ करोड ८० लाख रूपैयाँ जम्मा गरिदिएको समाचार सार्वजनिक भएको थियो।
त्यसमा उनले कसैले रकम जम्मा गरिदिएको तर पैसा नआएको बताए।
‘कसैले पैसा हालिदिएपछि मेरो खातामा क्रेडिट भएछ तर त्यसमा पैसा नभएर रिटर्न भएपछि फेरि डेबिट भएछ। मेरो खातामा पैसा आएको छैन,’ उनले भने।