काठमाडौं । काठमाडौं महानगरले न्युरोडमा गरेको पार्किङ्ग निषेधको विरोधमा न्युरोडका व्यापारीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
पार्किङ्ग बन्द गरेर व्यापार नहुने र पार्किङ्ग खोल्नु पर्ने विषयलाइ लिएर न्युरोडका व्यापारीहरु सटर बन्द गरेर सडकमा आइ आन्दोलन गरेका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले महानगरपालिकाले अवैज्ञानिक ढङ्गले पार्किङ हटाउने निर्णय गरेकाले न्युरोड क्षेत्रका व्यवसायी समस्यामा परेको बताए । “व्यापार व्यवसाय मन्दी भएको अवस्थामा पार्किङ निषेध गरेर झन् समस्या थप्ने काम हुँदैछ,” उनले भने ।
काठमाडौँ महानगरपालिकाले भने आज बिहानदेखि न्युरोड आसपासमा पार्किङ गरिएका सवारीसाधन हटाएको छ । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले न्युरोड क्षेत्रमा हुने भीडभाडलाई सहज बनाउनका लागि पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए ।
“न्युरोड जानुपर्ने सवारी धनीलाई काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएका छौँ”, उनले भने । पुरानो बसपार्क क्षेत्रमा तीन सयवटा चारपाङ्ग्रे र सात सय दुईपाङ्ग्रे सवारी साधन अट्ने महानगरले जनाएको छ ।
धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ ।
पार्किङ निषेध गरिएको ठाउँमा महानगरपालिकाले आज बिहानदेखि विशेष सरसफाइसमेत गरेको छ ।

