लागुऔषध मुद्दामा पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर पक्राउ, बाबुराम भट्टराईको आपत्ति

खुमा वली

माओवादीका पूर्वब्रिगेड कमान्डर जितमान पुन मार्शल पक्राउ परेका छन् । उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि ढिलोमात्र सार्वजनिक भएको छ ।

रुकुम पूर्वको भुमे गाउँपालिका १ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

तर पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले ‘जनयुद्धकालीन मुद्दा’मा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीयसदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ । हामी यो घटनाको तीव्र भ्रत्सना गर्दछौं,’ डा. भट्टराईले सामाजिक सन्जालमा लेखेका छन् ।

यस सम्बन्धमा तुरून्त ‘आवश्यक कदम’ चाल्न उनले जनयुद्धका सुप्रिम कमाण्डर समेत रहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् ।

जितमान पुन

पुन ०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिको उम्मेदवारसमेत थिए ।

भट्टराईले पुनलाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरेको दाबी गर्दै विरोध गरेका हुन्।

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका उनलाई प्रहरीले भने जनयुद्धकालीन मुद्दामा नभई लागुऔषध मुद्दामा पक्राउ गरिएको बताएको छ।

सम्बन्धित खबर

सिफारिस