फाइल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले जनतामा ‘अब चाहिँ केही हुन्छ’ भन्ने सकारात्मक सोचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धि मान्नुपर्ने बताएका हुन् ।
चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रचण्डले यसबीचमा इतिहासले सम्झिने गरी कयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको जानकारी दिए ।
‘नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ,’ प्रचण्डले भने, ‘मिटरब्याजपीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता कार्यहरूले जनतामा आशा जगाएको छ ।’
सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको दाबी गर्दै प्रचण्डले भने, ‘दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क शय्याको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र पाठ्यपुस्तक, मलको आपूर्तिसहित सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको छ ।’
वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेन्टी’ गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । उनले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गरे ।