
काठमाडौं । नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ। काठमाडौँको कालिमाटीस्थित निवासमा विहीबार विहान निधन भएको हो।
शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन्। २०४५ मा नेपालमाथि भारतले नाकाबन्दी गरेका बेला उनी भारतका लागि नेपाली राजदूत थिइन्।
नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा उनी बढुवा भइसकेकी थिइन्।
सन् १९७१ मा बंगलादेशको निर्माण भएपछि बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत पनि शाह नै बनेकी थिइन्।
तत्कालीन सरकारले निजामती सेवाको उमेर हद ३० वर्ष कायम गरेपछि उनले परराष्ट्र सेवाबाट अवकास प्राप्त गरेकी थिइन्।