महरा पुत्र राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा दायर, ८ करोड बढी बिगो मागदाबी

भेपमार्फत सुन तस्करी प्रकरण

दियोपोस्ट संवाददाता  

काठमाडौं । भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा पक्राउ परेका राहुल भनिने रेशम महरासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको कसुरमा पनि मुद्दा दायर भएको छ ।

पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा रेशम महरा ‘राहुल’सहित ११ जनालाई प्रतिवादी कायम गरेर शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले दायर गरेको अभियोग पत्र अनुसार भेपमार्फत सुन तस्करी गर्ने समूहमा आबद्ध बेल्जियन नागरिक दावा छिरिङसहित ११ जनालाई प्रतिवादी कायम गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनको आधारमा सरकारी वकिलले उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार तिन सय रुपैयाँ बिगो मागदाबी लिएको छ।

सरकारी वकिलको कार्यकालमा राहुलले आफ्नो नाममा केही कम्पनीहरूको आईपीओ‌ भएको बताउँदै हिमालयन साईलेन्स प्रालि र भरोशा सेकुरेटी सर्भिस प्रालिमा १०/१५ लाख जति लगानी भएको बताएका थिए।

उनले उक्त रकम आफ्नो पारिवारीक आयको स्रोत तथा बुवा मन्त्री तथा सभामुख हुँदा करिब चार वर्षसम्म स्वकीय सचिवको रूपमा काम गर्दाको पारिश्रमिक बताएका छन्। बयानमा उनले मुद्दाका कुनै पनि प्रतिवादीहरूसँग आफ्नो चिनजान नभएको दाबी गरेका छन्।

राहुलले चिनियाँ नागरिक ली हाङसाङले दुई वटा सुटकेशभित्र लिई आएको सुन रहेको ७३० थान भेप छुटाउनका लागि पटक–पटक फोन गरी तथा भन्सार कार्यालयमा उपस्थित भई दवाव दिएको भनेर मुद्दा दायर गरिएको छ।

भेप छुटाउनको लागि भन्सार कार्यालय गएको तथा भन्सार अधिकृतलाई फोन गरेको तथ्य राहुल आफैँले पनि स्वीकार गरिसकेको उनको साथमा भन्सार कार्यालय गएका व्यक्तिले जफत गरिएको भेप हेर्न खोजेको भन्ने समेत देखिएको प्रहरी अनुसन्धानमा देखिन्छ।