
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
प्रतिवेदनमा कांग्रेससँग किन सहकार्य गर्नुपर्यो र दुई दलबिचको गठबन्धन सरकारले गरेका कामकारबाहीको फेहरिस्त प्रस्तुत गरिएको छ ।
यस्तै माओवादीसँगको सत्ता सहकार्य प्रचण्डका कारण टुटेको प्रतिवेदनमा उल्लेख छ । ओलीले कांग्रेससँगको सहकार्यपछि राजनीतिक कोर्स नयाँ बनेको उल्लेख गर्दै त्यसको व्याख्या र विवेचनामा प्रतिवेदनको पाना खर्चिएका छन् ।
४७ पृष्ठ लामो प्रतिवेदनमा देशमा बढ्दो अराजकता, भूराजनीतिक अवस्था, पार्टीको आगामी कार्ययोजनालगायतका विषय समेटिएको छ ।
ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन अनुसूचीसहित ४७ पृष्ठको रहेको छ। प्रतिवदेनमा दुई दलबीचको सहकार्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु रहेको दाबी गरिएको छ।
भनिएको छ, ‘एमाले र कांग्रेसकाबीचमा निर्माण गरिएको यस सहकार्यको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु हो। राजनीतिक अस्थिरता गहिरिँदै जाँदा यसले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा रहेका शक्तिहरूको मनोबल बढ्दै गएर लोकतन्त्र नै संकटमा पार्ने स्थितिलाई बोध गर्दै हामी यस निष्कर्षमा आइपुगेका हौँ।’
त्यस्तै उनले ओलीले माओवादी केन्द्रलाई अवसरवादीको आरोप लगाएका छन्। सरकारबाट बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै ओलीले तीव्र रोष प्रकट गरेका छन्।